हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री
काठमाडौँ। हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन व्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार १० क्विन्टल चामल, १०० लिटर तिल, दुई क्विन्टल नुन, दुई क्विन्टल नै चिनी, ३० क्विन्टल मैदा, १र१ क्विन्टल भुजा, चिउरा, १० पाकेट चिया पठाइएको छ। यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरू पठाइएको उहाँले बताउनुभयो। चारवटा त्रिपाल र १० बोरा सिमेन्ट पनि पठाइएको छ । “सिमिकोटबाट हामीले गाडीमा सामान पठाएको हो, सामान पुगिसकेको छ ” उनले उहाँले भन्नुभयो ।
तिलगाउँमा बाढी र पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोला पारी फाँटमा बसिरहेका छन् ।
बाढी र पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेला लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञको टोली हुम्ला पठाइएको बताउनु भयो । उहाँका अनुसार घटनाको अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्तोला, मौसमविद् सौहाद्र जोशीसहित विपद् प्राधिकरणको टोली हुम्ला पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्