तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकको निक्षेपलाई राष्ट्र बैँकले सुरक्षा गर्दछ: नवनियुक्त गभर्नर डा पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ ।

बालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पार्नुभयो । “वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उहाँले भन्नुभयो, “नियमन र सुपरिवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरिवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैङ्कको क्षमता बढाउनुपर्नेछ ।”

बैङ्क तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।

त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर मात्रै निर्णय लिने उहाँको भनाई छ । “नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ । म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन । सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर जान्छौँ”, गभर्नर पौडेलले भन्नुभयो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैङ्कको आन्तरिक मामिला भएको धारणा पनि उहाँले राख्नुभयो ।

नवनियुक्त गभर्नर डा. पौडेलले रु ५०० र एक हजार दरका बैङ्क नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button