बागमती प्रदेशको राजस्व सुधार अध्ययन समितिको प्रतिवेदन आर्थिक मन्त्रीलाई बुझाइयो
मकवानपुर । बागमती प्रदेश सरकारले गठन गरेको राजस्व सुधार अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ।

मङ्गलवार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा समितिका संयोजक किशोर जंग कार्की नेतृत्वको टोलीले प्रतिवेदन आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेसमक्ष बुझाएको हो। कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको पनि उपस्थिति रहेको थियो।
राजस्व वृद्धि तथा नीतिगत सुधारका लागि गठित उक्त समितिले तीन महिनाको अवधिमा अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। मुख्यमन्त्री लामाले प्रतिवेदनलाई अध्ययनमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीतिगत सुधार अनिवार्य रहेको बताउनुभयो ।
मन्त्री काफ्लेले प्रदेशको राजस्व सुधारका लागि कानुनी जटिलता समाधान गर्दै अघि बढ्नुपर्ने बताए। उनले प्रतिवेदनले आर्थिक नीतिमा सुधार ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गङ्गादत्त नेपालले प्रतिवेदनमा समेटिएका सुझावहरू आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने जानकारी दिए। उनले प्रतिवेदन प्रदेशको दीर्घकालीन आर्थिक तथा नीतिगत सुधारका लागि महत्वपूर्ण दस्ताबेज बन्ने बताउनुभयो ।
मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले प्रतिवेदनले प्रदेशको राजस्व तथा समग्र आर्थिक अवस्थाको सुदृढीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संयोजक कार्कीले प्रतिवेदनमा समेटिएका प्रमुख बुँदाहरूबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्