तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज–५ ले प्रदेश सभा सदस्य क्रिकेट प्रतियोगिताको उपाधि जित्यो

बाँके। नेपालगन्जमा जारी प्रथम प्रदेश सभा सदस्य क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ ले जितेको छ।

नेपालगन्ज २३ भज्जुपूर्वास्थित मैदानमा भएको फाइनल खेलमा वडा नं. ५ ले वडा नं. १६ लाई पराजित गर्दै उपाधि जितेको हो।

सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा भेरी रकर्स स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा विजेता टोलीले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता टोलीलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका सचिव साहिल अन्सारीले जानकारी दिए।

प्रतियोगितामा नेपालगन्ज–५ का शाहबाज खान सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनलाई ट्रफीसहित १० हजार रुपैयाँ प्रदान गरिएको थियो। उत्कृष्ट बलर नेपालगन्ज–५ का दानिस खान र उत्कृष्ट ब्याट्सम्यान नेपालगन्ज–१६ का अय्यूब अन्सारी घोषित भए। दुवैले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री भण्डारी लाल यादवले तीनै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।

आयोजक संस्थाका अध्यक्ष मोहम्मद साजिद खानले खेलकुदलाई सामाजिक सद्भाव र मेलमिलापको माध्यम बनाउँदै सबै जात, धर्म र समुदायबीच एकता सन्देश फैलाउने प्रयास भइरहेको बताए।

समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरका वडाध्यक्षहरू मजहर अली साई (१४), अब्दुल गफ्फार हलावाई (२२), अब्दुल जबर अली बेहना (२३), डुडुवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष झन्क बहादुर थापा र वडा नं. ६ का अध्यक्ष मोहन राम मिश्रलगायतको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button