आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जा मन्त्री खड्काबिच शिष्टाचार भेट
काठमाडौँ । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी, आइरेनाका महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काबिच शिष्टाचार भेटवार्ता भएको छ ।

सगरमाथा संवादमा सहभागिताका लागि औपचारिक भ्रमणमा नेपाल आउनु भएकोमा महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत धन्यवाद दिनुहुँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गर्नुभयो।
मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्नुहुँदै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो।
शिष्टाचार भेटका क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा नीति पेरिस सम्झौता, दिगो विकास लक्ष्य ७ (सस्तो र स्वच्छ ऊर्जा) र लक्ष्य १३ (जलवायु कार्य)सँग सुसङ्गत रहेको जानकारी गराउनुभयो । साथै, निजी क्षेत्रको लगानी प्रोत्साहन, ऊर्जा स्रोतको विविधीकरण र राष्ट्रिय ग्रिडको आधुनिकीकरणका लागि नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारको दिशामा अघि बढाइरहेको उल्लेख गर्नुभयो।
भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीय स्तरमा स्वच्छ ऊर्जाको उपयोग विस्तारमा नेपालले अग्रणी भूमिका खेल्न सक्ने औँल्याउनु हुँदै मन्त्री खड्काले यसले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि भएको र क्षेत्रीय ऊर्जा एकीकरणको सम्भावना अझ सुदृढ भएको धारणा व्यक्त गर्नुभयो।
नेपालले आइरेनासँग जलविद्युत्, सौर्य, वायु, ग्रिड एकीकरण, अफ(ग्रिड ऊर्जा पहुँच तथा हरित हाइड्रोजन प्रविधिमा दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको जानकारी पनि सो अवसरमा गराउनुभयो।
भेटका क्रममा आइरेनाका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले नेपालसँग दीर्घकालीन ऊर्जा साझेदारी गर्न संस्था इच्छुक रहेको बताउनुभयो। उहाँले नेपाल जस्तो जलविद्युत् र स्वच्छ ऊर्जामा सम्भावनायुक्त मुलुकसँग सहकार्य गर्नु आइरेनाको प्राथमिकतामा पर्ने उल्लेख गर्नुभयो ।
नेपाल सन् २०१७ मा आइरेनाको सदस्य बनेको हो भने हाल यस अन्तरसरकारी संस्थामा १६९ देश र युरोपियन युनियन आवद्ध रहेका छन्।
प्रतिक्रिया राख्नुहोस्