तपाईँ सुन्दै हुनुहुन्छः

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । 

अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालको स्तरोन्नति प्रक्रियाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण गर्न लागिएको र त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले सूचना जारी गरेको उहाँले बताउनुभयो ।  

उपचार केन्द्रको अस्पताल भवनको स्तरोन्नति, आयोजना निर्माण तथा सञ्चालन गर्न, प्रस्तावित आयोजनाको संरचनामा अस्पताल भवन, आकस्मिक सेवा भवन, बहिरङ्ग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन, कुरुवा घर, कर्मचारी आवास, खानेपानी ट्याङ्की, अक्सिजन प्लाण्ट, फोहर व्यवस्थापन कक्ष, शव गृह, खेलमैदान, पार्किङ, बहुउद्देश्यीय भवन, पार्क र हेलिप्याड प्रस्ताव गरिएको छ । त्यसका लागि पाँच सय ४७ रोपनी जग्गा आवश्यक पर्ने देखिएको डा श्रेष्ठले बताउनुभयो । 

पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत अस्पतालमा हाल पचास जनरल वार्ड मात्र रहेकाले श्वासप्रश्वासका बिरामीको उपचारमा समस्या भइरहेको छ । सरकारले विसं २०६७ मा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेती गङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button