सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायु प्रदूषण
काठमाडौँ । सरोकारवालाहरुले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायु प्रदूषण प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिन ‘दिगो सहरहरू र समुदायहरू’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायु प्रदूषण सहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरूको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको भन्दै चिन्ता जनाउनुभएको हो ।
सत्रका वक्ताहरूले जलवायुजन्य विपद्का कारण सहरहरू असुरक्षित रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताउनुभयो ।
“असोजको बाढी नयाँ जलवायुजन्य विनाशकारी घटना हुन्, जनचेतनाको अभावका कारण पनि विपद्ले क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “अब दिगो र जलवायुमैत्री पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।”
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचिएको विपद् निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिनुभयो । सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ सहर विकास गर्दा विपद्मैत्री सहर बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
ग्लोबल ग्रीन ग्रोथ सेन्टरका मुख्य सल्लाहकार डा बिन्दुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसकेमा सहरहरूले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताउनुभयो । सहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनका लागि उहाँले आग्रह गर्नुभयो ।
एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले सहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपद्मैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेकामा जोड दिनुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो सत्रको सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्