तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहले सञ्चार नीति बनाउनुपर्नेमा पत्रकार महासङ्घ कोशीको जोड 

उदयपुर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भारत खड्काले स्थानीय तहले सञ्चार नीति बनाएर लानुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजना तथा पत्रकार महासङ्घ उदयपुरको समन्वय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीको सहयोगमा आयोजित पत्रकारिता क्षेत्रको सबलीकरण स्थानीय तहको भूमिका विषयक अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले यस्तो बताउनुभएको हो ।

अध्यक्ष खड्काले मोफसलका मिडिया छोडेर राष्ट्रिय मिडिया मैत्री कार्य गर्दै जाने हो भने भोली मोफसलमा पत्रकार नहुने भन्दै स्थानीय पत्रकारहरूलाई पेशाप्रति प्रतिबद्ध बनाउन पनि तत्काल स्थानीय तहले सञ्चार नीति बनाउनुपर्ने माग राख्नुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, कटारी नगरपालिका उपप्रमुख गीता खडका, प्रमुख प्रशासकीय अधिकृतहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले उदयपुरका सञ्चार माध्यमको अवस्था र स्थानीय तहले गर्नुपर्ने कार्यको प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासङ्घ कोशीले अघि सारेको स्थानीय तहले सञ्चार नीति बनाउनुपर्ने प्रस्तावलाई कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ कोशीले कोशी प्रदेशका १४ वटै जिल्लामा पत्रकारिता क्षेत्रको सबलीकरण स्थानीय तहको भूमिका विषयक अन्तर संवाद कार्यक्रम आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button