तपाईँ सुन्दै हुनुहुन्छः

‘विकासका मुद्दा सफल पार्न सडक र सदनबाट अभियान चलाइन्छ’

बैतडी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको समग्र विकासका मुद्दा सफल पार्न सदन र सडकबाट अभियान चलाइने बताउनुभएको छ । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको बैतडी पाटनमा शुभारम्भ गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पुरा गर्न ‘जनतासँग माओवादी’ कार्यक्रम अभियानका रुपमा अघि बढाइएको बताउनुभयो । 

आजै पाटन नगरपालिकाद्वारा आयोजित अभिनन्दन समारोहमा उहाँले सुदूरपश्चिम प्रदेश सरकारले तत्काल स्थानीय सेवा ऐन जारी गरि ठप्प भएको स्थानीय निकायको सेवा सुचारु गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा नगर प्रमुख गौरी सिंह रावलले ज्ञापन पत्र पेश गर्नुभएको थियो ।

त्यसअघि अध्यक्ष प्रचण्डले पाटन नगरपालिकाद्वारा निर्मित जनजागरण अभियान स्तम्भको समेत अनावरण गर्नुभयो । 

बैतडीको पाटनबाट शुभारम्भ भएको अभियानले मध्यपहाडी लोकमार्गको १ हजार ८ सय ७९ कि.मि. पार गर्ने जानकारी कार्यक्रममा दिइयो ।

पाटन खुल्ला मञ्चमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बन्द भएको बैतडी विमानस्थल सुचारु गर्न र भीमदत्त बहु-प्राविधिक शिक्षालयमा स्वास्थ्य शिक्षा (HA) सरहको पठनपाठनका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । 

अभियानमा पूर्व उपराष्ट्रपति एवम् माओवादी उपाध्यक्ष नन्दकिशोर पुन, पूर्व सभामुख एवम् उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव प्रसाद गुरुङ, उप महासचिव गिरिराजमणि पोखरेल लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button