तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले हिजो बिहान काठमाडौँको मखन गल्लीमा रहेको एक घरमा खाना पकाउने ग्याँस  सिलिण्डर लिक भई आगलागी हुँदा एक महिलाको ज्यान गएकोप्रति दुख व्यक्त गर्दै अग्नि नियन्त्रक यन्त्रहरू चुस्तदुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद राजभण्डारीले विभिन्न ग्याँस कम्पनीहरूमा तत्काल अनुगमन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले राज्यका सबै निकायहरूले आर्थिक अनुशासन अनिवार्य रुपमा पालना गर्नुपर्नेमा जोड दिँदै  महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा ७ खर्ब, ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ बेरुजु देखिनुले मुलुकको अर्थतन्त्र र कार्य क्षमतामाथि प्रश्न उठेको बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पछिल्लो समय सडक दुर्घटना बढेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न वर्षा अघि नै सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । 

रास्वपाका सांसद अशोककुमार चौधरीले काठमाडौँका विभिन्न स्थानमा हिजो र आज बिहान भएको आगलागीले पुर्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद डा.अमरेशकुमार सिंहले गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको पुनर्गठन गरेर सरकारले आलटाल गरेको बताउनुभयो । 

बैठकको शून्य समयमा सांसदहरुले पूर्व मनसुनकै समयमा विभिन्न स्थानमा वर्षाका कारण क्षति पुगेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतको व्यवस्था गर्न र मौसम पूर्वानुमान महाशाखाले यसपाली विगतमा भन्दा बढी वर्षा हुने अनुमान गरेकाले सम्भावित क्षति न्यूनीकरणका लागि समयमै पुर्वतयारी गर्न पनि माग गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२/०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button