तपाईँ सुन्दै हुनुहुन्छः

राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

पालिकाका सबै ९ वटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई दिगोपना घोषणा गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका १ हजार ३९९ जना बालबालिका रहेका छन् । त्यसैगरी ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । छुटेका १२ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ । उनीहरू सबैले पाउनुपर्ने खोप पाइसकेपछि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

पालिका अध्यक्ष पौडेलले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् भन्ने सवालमा पालिका गम्भीर रहेको बताउनुभयो । उहाँले स्वस्थ बच्चा जन्मिए मात्र मुलुक समृद्ध हुने बताउनुभयो । उहाँले लगानीको प्राथमिकता निर्धारण गर्न पनि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । शिक्षा र स्वास्थ्य पालिकाको पहिलो प्राथमिकता रहेको पनि पालिका अध्यक्ष पौडेलले  बताउनुभयो । पूर्वाधारमा मात्रै लगानी गरेर अर्थ नहुने भन्दै स्वस्थ जनशक्ति नभए त्यसको अर्थ नहुने पनि प्रष्ट पार्नुभयो । उहाँले स्वास्थ्य संवेदनशील रहेकाले त्यसै अनुसार काम गर्नुको विकल्प नभएको बताउनुभयो ।

राप्तिसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले सबैको सहयोगका कारण पालिकालाई दिगोपना घोषणा सम्भव भएको बताउनुभयो । उहाँले खोप सुनिश्चितताका लागि महिला स्वयंसेविकाहरूले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले खोपमा सबै बालबालिकाहरूको सहज खोपका लागि खोप केन्द्र बिस्तारमा ध्यान दिइने पनि विश्वास दिलाउनुभयो । उहाँले खोप केन्द्रलाई आवश्यक बजेटको समेत प्रबन्ध गरिने प्रतिबद्धता जनाउनुभयो । पालिका उपाध्यक्ष थारुले पालिकाको समग्र स्वास्थ्यप्रति पालिका सचेत रहेको बताउनुभयो ।

यस्तै राप्तिसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर  ऐडीले खोप नियमित अभियान भएकाले यसलाई दिगोपना सुनिश्चित गर्ने काम भइरहेको बताउनुभयो । उहाँले खोप अभियानलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । खोपलाई सबैको पहुँचमा केन्द्रित गर्ने गरी काम गरिने प्रतिबद्धता जनाउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले खोपजन्य रोगबाट जोगाउनका लागि खोप कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले १४ ओटा विभिन्न रोगहरूबाट जोगाउनका लागि बालबालिकालाई ९ प्रकारका खोप दिने गरिएको जानकारी दिनुभयो । उहाँले सबै बालबालिकाले खोप लगाइसकेपछि प्रत्येक वर्ष खोप सुनिश्चित गर्ने गरिएको जानकारी दिनुभयो । राप्तिसोनारी गाउँपालिकासहित अहिलेसम्म बाँकेका ८ ओटा पालिका मध्ये ६ ओटा पालिकालाई खोप सुनिश्चित घोषणा गरिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा राप्तिसोनारी गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा अध्यक्षहरूको तर्फबाट राप्तिसोनारी गाउँपालिका ९ का वडा अध्यक्ष सोहनलाल थारु, राजनीतिक दलको तर्फबाट एमालेका तुल्सीराम चौधरी, कार्यपालिका सदस्यहरूको तर्फबाट केशव दमाई, स्वास्थ्यकर्मीका तर्फबाट राप्तिसोनारी गाउँपालिका १ स्थित कुसुम स्वास्थ्य चौकीका प्रमुख शङ्कर बहादुर डाँगी, स्वयंसेविकाको तर्फबाट फूलकुमारी थारु लगायतले बोल्नुभएको थियो ।

घोषणा कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, विश्व स्वास्थ्य सङ्गठनका खोप अधिकृत आशा चौधरी, स्वास्थ्य कार्यालय बाँकेका चेन कोल्ड अधिकृत जनकलाल गिरी, सिअहेव अधिकृत सिताराम चौधरी, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र बहादुर केसीले गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button