नेपालको समृद्धिमा छिमेकी राष्ट्रहरूको योगदान महत्वपूर्ण : ईश्वर पोखरेल

जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि तथा विकासमा दुई ठूला छिमेकी मित्र राष्ट्रको साथ एवं सहयोग महत्वपूर्ण भएको बताउनुभएको छ ।
एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले चीन सरकारको चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपाल कार्यालयद्वारा जनकपुरधाममा प्रसिद्ध सरस्वती नमूना माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमलाई आज जनकपुरधाममा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले नेपालको आर्थिक विकासमा चीन सरकारको महत्वपूर्ण योगदान भएको बताउँदै पछिल्लो समयमा चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपाल संस्था मार्फत नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा गरिरहेको कामको सराहना गर्नुभयो ।

एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाललाई बनाउनका लागि आफूहरूले भारत तथा चीनको साथ र सहयोग चाहेको बताउँदै नेपाल दुवै छिमेकीसँग मित्रवत् सम्बन्ध राख्न चाहेको बताउनुभयो ।
उहाँले सबै कुरा बदल्न मिल्छ तर छिमेकी मुलुक बदल्न नसक्ने भएकाले नेपाल दुवै देशसँग समानान्तर सम्बन्ध राख्न चाहेको बताउनुभयो । उहाँले नेपाललाई समृद्ध बनाउनका लागि ठूलो जनसङ्ख्या तथा अर्थतन्त्र भएको दुवै देशको साथ र सहयोग चाहिने बताउनुभयाे ।
नेकपा एमालेका नेत्री एवं प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारको महत्वपूर्ण योगदान भएको बताउँदै नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासका लागि थप लगानी बढाउनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक विकासका लागि चीन सरकारको तर्फबाट प्राप्त भएको शैक्षिक सामग्रीहरूले सहयोग मिल्ने बताउनुभयो । नेपालका लागि चिनिया राजदूतावासका वाणिज्य काउन्सीलर सीईयू, चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालका कन्ट्री डाईरेक्टर जाओ स्याङ्ग र राजदूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु पेङ्गचेङ्गले विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।
यसै गरि जनकपुरधामका प्रादेशिक अस्पतालका प्रसूति गृहका लागि चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालले आरामदायी बर्थिङ्ग अभियान अन्तर्गत सामाग्रीहरू अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहलाई हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्