तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने

विराटनगर । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । 

विराटनगर महानगरपालिकाको आयोजनामा यही जेठ २३ र २४ गते स्थानीय तहका  उपप्रमुख तथा उपाध्यक्षहरूको  राष्ट्रिय सम्मेलन हुन लागेको हो । 

महानगरपालिकाले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनमा देशभरिबाट २ सय ९१ स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहने जानकारी गराएको छ ।

स्थानीय तह सञ्चालनका लागि उपप्रमुख तथा उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउदै सङ्घीयताको सवालमा स्थानीय तहले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले, सम्मेलनले जनताको चाहना बमोजिम स्थानीय तह सञ्चालनमा सहयोग पुग्ने भएकाले सम्मेलन सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । 

उहाँले कतिपय पालिकामा प्रमुख उपप्रमुख बीच समन्वय हुन नसकेको अवस्थामा सम्मेलनले प्रमुख उपप्रमुख बीचको समन्वय र सहकार्यमा मद्दत पुग्ने बताउनुभयो । 

महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले, राष्ट्रिय सम्मेलनमा सङ्घीयता कार्यान्वयन, स्थानीय सरकार सञ्चालन र न्यायिक समितिले सम्पादन गरिरहेको कामको बारेमा छलफल हुने बताउनुभयो  ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले सम्मेलनको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । 

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि बजेट विनियोजन गर्दा स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरेका थियो  । 

सम्मेलन  सम्पन्न गर्न ४२ लाख रुपैयाँ खर्च हुने र जसमा १० लाख रुपैयाँ कोशी प्रदेश सरकारले उपलब्ध गराउने महानगरपालिकाका प्रमुख कोइरालाले बताउनुभयो ।

विराटनगरस्थित विरेन्द्र सभागृहमा सञ्चालन हुने दुई दिने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको  महानगरपालिकाका उपप्रमुख कार्कीले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button