दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान

उदयपुर । नेपाल नेत्रज्योती संघ मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले दृष्टिविहीन बालबालिकालाई अध्ययनका लागि आवश्यक शैक्षिक सामाग्री सहयोग गरेको छ ।
मङ्गलवार एक कार्यक्रमकाबीच मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले सहयोग सामाग्री उपलब्ध गराएका हुन । अध्यक्ष राउतले जिल्लाको चौदण्डीगढी नगरपालिका ५ मा रहेको आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षामा कक्षा १ देखी ९ सम्म अध्ययनरत १० जना विद्यार्थीहरूका लागि वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रम मार्फत ब्रेल लिपिका शैक्षिक सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले जानकारी दिनुभयो ।

दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरूबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरूले उनीहरूको अध्ययनमा सहजता प्राप्ति होस भन्ने हेतुका साथ मदन भण्डारी आँखा अस्पताल गाईघाटले सो सामग्रीहरू प्रदान गरेको अध्यक्ष राउतले बताउनुभयो ।
उहाँले आफ्नो लागि बैशाख ३० विशेष महत्वको दिन समेत भएको स्मरण गर्दै हरेक बर्ष बैशाख ३०मा कुनै न कुनै सामाजिक कार्यमा जोडिँदै आएको समेत बताउनु भयो । अध्यक्ष राउत २०७९ सालको बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको मेयरमा उपविजेता व्यक्ति हुनुहुन्छ । उहाँले त्यही दिनको स्मरण गर्दै आफु जनताको सेवामा जनमत सहित घुम्ने कुर्सीमा बसेर सेवा गर्ने अवसर नपाएको भएपनि भुईँ बाटै जनताको सेवामा सधैँ समर्पित हुने प्रण गरेकोले बैशाख ३० लाई आफूले महत्वका साथ लिने गरेको बताउनुभयो ।

नेत्रज्योती संघ मदन भण्डारी आँखा अस्पताल गाईघाटले यस अघि पनि “नेत्रहीन संघ उदयपुरलाई दृष्टिविहीनले प्रयोग गर्ने ३० थान सेतो छडी, उदयपुर जिल्ला भरका ४२ जना शारीरिक अपाङ्गता भएकालाई ह्विल चेयर, त्रियुगा नगरपालिका ७ स्थित जनज्योति माध्यमिक विद्यालय चुहाडेमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूका लागि सेतो छडी, कपि लगायतको सामाग्री २० जनालाई उपलब्ध गराएको थियो भने जिल्ला भित्रका ९३२ जनाको निःशुल्क मोतिया विन्दुका शल्यक्रिया समेत सम्पन्न गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्