प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढीका कारण मुलुकका विभिन्न स्थानमा भएको क्षति, सडक अवरुद्ध हुँदा नागरिकहरूले भोग्नुपरेको सास्तीलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको आकस्मिक समयमा सांसद चन्द्र बहादुर विश्वकर्माले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको र घाइते भएको जानकारी गराउँदै घाइतेहरूको नि:शुल्क उपचारको माग गर्नुभयो ।
उहाँले जाजरकोट जिल्लाको जिल्ला कारागारमा एकजनाले आत्महत्या गरेको जानकारी गराउँदै कारागारभित्र किन र कसरी मृत्यु हुन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
सांसद सूर्यमान दोङले गत असोजमा गएको बाढीले काभ्रे जिल्लाका विभिन्न स्थान र विपी राजमार्ग क्षतविक्षत बनाएको विषयमा निरन्तर सदन र सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
उहाँले पुन हिजोको वर्षापछि रोशी खोलामा आएको बाढीले काभ्रे र सिन्धुलीको सिमानामा एम्बुलेन्स लगायतका सवारी साधन आवत जावतमा समस्याा देखिएको भन्दै छिटोभन्दा छिटो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद लेखनाथ दाहालले बनेपा र आसपासका क्षेत्रमा हिजो भएको भारी वर्षाका कारण आएको बाढीमा एकजना महिला बेपत्ता भएको र रोशी खोलामा आएको बाढीले विपी राजमार्ग अवरुद्ध हुँदा रोशी र कोशी क्षेत्रका नागरिक समस्या परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विपी राजमार्गका १४ वटा स्थान जोखिमपूर्ण रहेको भन्दै वर्षायाममा सडक सुचारु गर्न सरकारलाई समयमै सचेत भई बजेट व्यवस्थापन गर्न र थप क्षति हुनबाट रोक्न लाग्नुपर्ने बताउनुभयो ।
सांसद डा. अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको बेथिति अन्त्य गरी व्यवस्थित गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
अजको बैठकमा आर्थिकवर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्