तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुखद्वारा बुद्वजयन्ती र उभौलीको शुभकामना

काठमाडौँ ।  उपसभामुख इन्दिरा रानाले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ । 

बौद्ध दर्शनका प्रवर्तक एवं विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 

“गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित तथा प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वास लिएकी छु”, उपसभामुख रानाको सन्देशमा उल्लेख छ । 

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा अर्चनालगायत विविध कार्यक्रम गरी मनाइन्छ ।

त्यसैगरी उपसभामुख रानाले उभौली पर्वको शुभकामना दिनुभएको छ । उहाँले प्रकृतिपूजक वा धर्तीपूजक अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिले मनाउने पर्व साकेला भएको उल्लेख गर्नुभएको छ । आजको दिनदेखि उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रूपमा पनि मनाउने गरिन्छ । 

वैशाख शुक्ल पूर्णिमादेखि एक महिनाभर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ । किरात समुदायले धूमधामसँग मनाउने उभौली पर्वलाई पृथ्वीमा ‘कृषियुग’ सुरु भएदेखि नै मनाउँदै आइएको छ । यस पर्वको पहिलो दिन ‘चण्डी’ नाच नाच्ने चलन छ । यही नाचद्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button