पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना, शान्ति र सहअस्तित्वको सन्देशमा जोड
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औं जन्मजयन्ती र किरात समुदायको महान पर्व उभौलीको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
सामाजिक सञ्जालमार्फत जारी सार्वजनिक शुभकामना सन्देशमा पूर्वराष्ट्रपतिले बुद्धको शिक्षाले आजको विश्वलाई अझ सान्दर्भिक सन्देश दिएको उल्लेख गर्नुभएकाे छ । लुम्बिनीमा जन्मिनु भएका बुद्धले करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको स्मरण गर्दै, आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि प्रेरणा प्रदान गर्ने उल्लेख गरिएको छ।
उहाँको सन्देशमा भनिएको छ, “बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ। आफ्ना जीवन र कर्ममा शान्ति, सहिष्णुता र दयाको भावना अँगाल्दै हामी सबैले समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणतर्फ अग्रसर हुन सकौं।”
त्यसैगरी, किरात समुदायको उभौली पर्व २०८२ को अवसरमा पनि उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिनुभएकाे छ। उभौली पर्वले प्रकृति, पितृ र कृषि परम्पप्रतिको श्रद्धा झल्काउने भन्दै यसले प्रकृतिसँग सहअस्तित्व, ऋतुसँगको तालमेल र समाजसँगको समन्वयको अमूल्य सन्देश प्रवाह गर्ने बताइएको छ।
“नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा यस्ता पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न योगदान दिन्छन्,” भण्डारीले उल्लेख गल्लेख गर्नुभएकाे छ।
उहाँले उभौली पर्वले सबैमा नवउर्जा, आपसी प्रेम र राष्ट्रिय गौरवको भावना थप गहिरो बनाओस् भन्ने कामना पनि व्यक्त गर्नुभएकाे छ ।
प्रतिक्रिया राख्नुहोस्