पालिकाले वितरण गरेको अनुदानको मकै बीउमा खराबी, किसानद्वारा क्षतिपूर्ति माग

बीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका मधुवन मथवलका किसानहरूले पालिकाले वितरण गरेको अनुदानको मकै बीउमा खराबी देखिएको र त्यसले बालीलाई क्षति पुगेको बताएका छन् ।
गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको र सो बीउ लगाएका मधुवन मथवलका किसानहरूको ५० बिघा बढी मकै खेतीमा अधिकांश घोघामा दाना नलागेको, केही घोघामा दाना छिटपुट रूपमा लागेको स्थानीय किसान सुरेन्द्र महतोले बताउनुभयो ।
उहाँले यसबारेमा वडा कार्यालयमा तीन÷चार पटक बैठक बसेको भए पनि कसैले जिम्मेवारी नलिएकोमा गुनासो गर्नुभयो ।
वडाध्यक्ष वासुदेव महतो थारूले सन्दीप एग्रो सप्लायर्सले मकैको बीउ सम्झौता गरेर वितरण गरेको भन्दै उसैले क्षतिपूर्ति दिनुपर्ने बताउँदै आउनुभएको छ ।
सखुवाप्रसौनी गाउँपालिकाका कृषि शाखाका प्राविधिक दयाराम वाग्लेले पनि सन्दीप एग्रो सप्लायर्सले मकैको बीउ सम्झौता गरेर वितरण गरेको हुँदा उसैले क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो ।
गहुँ, धान, मकैलगायत बालीका लागि पालिकाहरूले अनुदानमा दिने बीउ कमसल हुनाले उत्पादन नबढ्ने जस्ता समस्याहरूले अनुदानको बीउभन्दा अन्यत्रबाट नै बीउ खरिद गरिन्छ । अनुदानमा बीउ लिँदा सधैँ समस्याग्रस्त हुने गरेको किसानहरूले आरोप लगाएका छन् ।
पर्सा जिल्लामा अनुदानको बीउमा बारम्बार समस्या आउँदा किसानहरू अनुदानको बीउ लिन रुचाउँदैनन् ।
पालिकाबाट अनुदानमा बीउ लिने किसानहरूले कृषि बिमा पनि गरेका छैनन् । पालिकाले सप्लायर्सलाई आरोप लगाएर उम्किन खोज्ने भए पनि किसानहरूलाई सप्लायर्सबाट क्षतिपूर्ति दिलाउने जिम्मेवारी समेत पालिका कै भएको अगुवा किसानहरू बताउँछन् ।
अनुदानको बीउमा कमिसनको ठुलो चलखेलले गर्दा पालिकाहरूले सप्लायर्सलाई कारबाही गर्न नसकेको आरोप किसानको छ ।
प्रतिक्रिया राख्नुहोस्