तपाईँ सुन्दै हुनुहुन्छः

पुराना कानूनले जनता अपेक्षा पुरा गर्न सकस भइरहेको छः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आवश्यकताको आधारमा पुराना ऐन कानून समय सापेक्ष परिवर्तन नहुँदा विकास निर्माणमा समेत समस्या भइरहेको बताउनु भएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा ‘घुमौँ सौराहा, चितवन अभियान २०२५’ लिएर आएको क्षेत्रीय होटल संघ चितवनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पुराना कानून परिमार्जन नहुँदा विभिन्न बाधा अड्चनहरू खेप्नु परिरहेको बताउनु भएको हो । उहाँले संघीय शासन व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरेपनि ती संरचनालाई निर्देशित गर्ने कानून पुराना भएकोले जनताको चाहना अनुसार काम गर्न समस्या भइरहेको जनाउनु भयो । 

जनता र जनप्रतिनिधिको अपेक्षा अनुसार कानून नबन्दा समस्या भइरहेको भन्दै उहाँले समय सापेक्ष आवश्यकताका आधार ऐन, कानुनहरू परिवर्तन हुनुपर्नेमा जोड दिनु भयो । उहाँले कर्णालीमा पर्यटन क्षेत्रको संरचनात्मक विकासका लागि पर्याप्त बजेट नभएपनि उपलब्ध स्रोतसाधनबाटै थुप्रै काम गर्न सकिने अवसर भएपनि कतिपय पुराना कानूनले अवरोध पुर्‍याई रहेको बताउनु भयो । पूर्वाधार अभावले मात्र कर्णाली पछाडि परेको भन्न नमिल्ने बताउँदै उहाँले कर्णालीको जस्तो प्राकृतिक विविधता र सुन्दरता अन्त कतै नभएकाले ‘कर्णालीको विकल्प कर्णाली’ मात्र हुन सक्ने जिकिर गर्नु भयो । 

पर्यटन क्षेत्रको विकासका लागि सरकारको मुख्य भूमिका रहेपनि यसको गतिलाई प्रभावकारी रुपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । उहाँले सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय भएकाले सबै एकजुट भएमा निर्माणले सोचे झैँ गति लिने बताउनु भयो । कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत पर्यटकीय क्षेत्र भएपनि विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेको उहाँको भनाइ छ ।  कर्णाली प्रदेशको आन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवद्र्धन मुख्य आधार रहेको बताउँदै उहाँले चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्व झल्काउन आउनुभएका सबै व्यवसायीलाई सहकार्य र समन्वयबाट अघि बढ्न सुझाव दिनु भयो । 

चितवनको सौराहामा पर्यटक बढाउन त्यहाँका व्यवसायीहरू अहिले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न स्थानहरूको दौरामा रहेका छन् । क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष ओमप्रकाश पाण्डे, महासचिव महेश खनाललगायतको टोलीले  पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेपछि आफूहरू थप पर्यटक भित्र्याउन अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो । 

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीलगायतले चितवनको सौराहालाई कर्णालीको पर्यटन प्रवर्द्धनसँग जोड्न आग्रह गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button