बागलुङको चमुवामा ७ वटा खानेपानी ट्याङ्की निर्माण
बागलुङ । २७ बैशाख– बागलुङको गलकोट नगरपालिका वडा नम्बर ४ चमुवामा एक घर एक धारा अभियान अन्तर्गत खानेपानी वितरणका लागि ७ वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ ।
दमार खानेपानी तथा सरसफाई उपभोक्ता समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट विनियोजित रकमबाट १ सय घरमा पानी वितरण गरिएको हो ।
घरको आगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसा बारीमा प्रयोग गर्न सजिलो हुने दमार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष हेमराज गैरेले बताउनुभयो । अव्यवस्थित रूपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा गाउँका स्थानीयहरू खुसी भएका छन् ।
हामीले सामुदायिक धारामा पानीको पालो कुर्नुपर्ने बाध्यता थियो तर अहिले सहज भएको स्थानीय यमलाल सुवेदीले बताउनुभयो । आगामी वर्ष थप बजेट विनियोजन गरी बाँकी रहेका घरमा समेत पानी वितरण गर्ने दमार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव डिलाराम सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्