भारत–पाकिस्तान द्वन्द्व : कञ्चनपुरका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

कञ्चनपुर । भारत–पाकिस्तानबीच द्वन्द्व चर्किएपछि कञ्चनपुर प्रशासनले सीमा क्षेत्रका चार वटै सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कताका साथ सीमा क्षेत्रमा परिचालन गरेको छ ।
सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको गस्ती बढाइएको छ । सशस्त्र प्रहरीका ४१ टोली सीमा क्षेत्रमा परिचालन गरिएको छ । अहिले सीमामा अढाई सय बढी सशस्त्र प्रहरी खटिएका छन् ।
बुधबार रातिदेखि भारत–पाकिस्तानबीच तनाव बढेको हो । बिहीबारदेखि कञ्चनपुर प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सीमा क्षेत्रमा सबै सुरक्षा निकाय परिचालन गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्षण ढकालले जिल्ला सुरक्षा समितिको बैठक गरी आवश्यकता अनुसार सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । दुई देशबीचको तनावलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाएको बताउनुभयो ।
प्रशासन कार्यालयले ब्रह्मदेवदेखि डोके बजारसम्मको सीमा क्षेत्रमा सुरक्षा जाँच बढाएको हो । प्रशासनले अहिले ब्रम्हेदब, गड्डाचौकी, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास, डोके बजार लगायतका स्थानबाट प्रवेश गर्ने र बाहिरिने सबैको विवरण समेत सङ्कलन गरिरहेको छ ।
ब्रह्मदेवदेखि डोके बजारसम्म भारतसित नेपालको १ सय ३० किलोमिटर सीमा जोडिएको छ ।
प्रतिक्रिया राख्नुहोस्