तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य : मन्त्री पाण्डे 

कञ्चनपुर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमसहित नेपालका धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थलको प्रवद्र्धन आवश्यक रहेको बताउनुभएको छ । 

कञ्चनपुरको महेन्द्रनगरमा भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको फारवेष्ट टुरिज्म मार्टको उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटनमार्फत आर्थिक विकास सम्भव भएको र निजी क्षेत्रको लगानी अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । त्यसका लागि सरकारले वातावरण बनाउने उहाँको प्रतिबद्धता छ । मन्त्री पाण्डेले अन्तर प्रदेश हवाई कनेक्टिभिटीका लागि तयारी भइरहेको र निर्माणाधीन मझगाउँ विमानस्थल यथाशीघ्र सञ्चालन हुने पनि जानकारी दिनुभयो ।

त्यस क्रममा नाटाका अध्यक्ष कुमारमणि थपलियाले सुदूरपश्चिममा पर्यटन प्रवद्र्धनका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै नेपाल र भारतका व्यवसायीबीच सहकार्य तथा प्याकेज निर्माण जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सुदूरपश्चिममा पर्यटकीय पूर्वाधार विकास जरुरी रहेको उल्लेख गर्नुभयो । 

वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यस किसिमका कार्यक्रमबाट नेपाल–भारतका व्यवसायीबीच आपसी संवाद हुने भएकाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राख्नुभएको छ ।

भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा सुरु भएको तीन दिने टुरिज्म मार्टमा भारतका दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश लगायत स्थानबाट पर्यटन व्यवसायी सहभागी हुनु भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले जानकारी दिनुभयो । 

कार्यक्रम संयोजक राजेन्द्र केसीले महोत्सवमा महाकाली र कर्णाली नदीमा ट्याफ्टिङ तथा शुक्लाफाँटा भ्रमणजस्ता गतिविधिहरू गरिने  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button