तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा: मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ । 

श्रीलङ्काको कोलम्बोमा आयोजित एकिकृत बहुपक्षीय जोखिम पुर्वचेतावनी सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भूभाग देखि उच्च हिमाली क्षेत्र सम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी,पहिरो खडेरी ,शीतलहर ,चट्याङ ,हिमताल विस्फोट जस्ता घटनाका कारण ठुलो क्षति , पूर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताउनुभयो ।

कृषि मन्त्री अधिकारीले जोखिम सम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न ,संस्थागत क्षमता अभिवृद्धि गर्न र जीवन रक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्‍याउने  कार्यमा  नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनले जोखिमहरूको आवृत्ति र अनिश्चितता झन बढाएको उल्लेख गर्दे यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ, मन्त्री अधिकारीले भन्नुभयो ।

जलवायु उत्थानशील तथा प्रभावकारी पुर्वसुचना प्रणालीका लागि सदस्य राष्ट्रहरू वीच साझा दृष्टिकोण र  सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । श्रीलङ्का सरकार र क्षेत्रीय एकिकृत वहुजोखिम पूर्व चेतावनी प्रणाली को संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरूमा जोखिम र जोखिम पूर्वको पूर्व सूचना र एकिकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button