तपाईँ सुन्दै हुनुहुन्छः

समय र खर्च मितव्ययी बनाउन चितवनमा ‘घर बनाउने मेला’

चितवन । चितवनमा घरजग्गा समय र खर्च मितव्ययी  बनाउने उद्देश्यसहित  भोलिदेखि घर बनाउने मेला शुरु हुने भएको छ । घरजग्गा तथा घर निर्माण सम्बन्धि जानकारी दिने उद्देश्यसहित मेला शुरु गर्न लागिएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था एसवन होम्स र भी–ग्रुपले आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

भी–ग्रुपका अध्यक्ष तथा मेलाका संयोजक विपिन कँडेलले चितवनमा घरजग्गा कारोबार तथा घर निर्माणको कार्य तीव्र गतिमा हुँदै गइरहेको र यसलाई व्यवस्थित र यसबारे जानकारी दिने उद्देश्यले पहिलोपटक आयोजना गर्न लागिएको जानकारी दिनुभयो  । ‘चितवन देशकै केन्द्रबिन्दु र बसाइसराइको केन्द्र बिन्दु हो, कँडेलले भन्नुभयो, घर निर्माण तथा जग्गा कारोबार सम्बन्धी सही जानकारी दिन पनि मेलाको आयोजना गरेका हौँ । ’मेलामा चितवनका सातै पालिका, सरकारी निकाय तथा व्यवसायीहरूका छाता संगठनबीच समन्वय गरी मेलाको आयोजना गर्न लागिएको कँडेलले बताउनु भयो ।

उद्योग वाणिज्य संघ चितवनको परिसरमा वैशाख २५ गतेदेखि २७ गतेसम्म हुने मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी ३० वटा स्टल रहेका छन् । एसवान होम्सका अध्यक्ष सुरज न्यौपानेले मानिसको जीवनमा घरजग्गा पहिलो प्राथमिकतामा रहेकोले सरकारी निकायसँग नीजि क्षेत्रले समन्वय गरी पहिलोपटक मेला आयोजना गर्न लागिएको बताउनु भयो  । ‘घर मानिसको सपना हो, आवश्यकता हो, अध्यक्ष न्यौपानेले भन्नुभयो, घर बनाउँदा लागत र समयको बचत कसरी गर्न सकिन्छ भन्ने पनि मेलाको उद्देश्य हो ।

घर निर्माण गर्ने निर्माण कम्पनी, हार्डवेयर बिक्रेता तथा सेवाग्राही बीच प्रत्यक्ष भेट हुने भएकोले मेला उपलब्धिमूलक हुने न्यौपानेको भनाई छ । मेलामा विदेश रहेर स्वदेशमै घर बनाउने योजनामा रहेका सेवाग्राही, घरजग्गा कारोबार गर्ने व्यवसायी तथा सेवाग्राहीलाई फाइदा पुग्ने आयोजकको अपेक्षा छ । 

तीन दिनसम्म चल्ने मेलामा १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

सरकारी निकाय, व्यवसायी, विज्ञ र उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, विद्यार्थी  अन्तरक्रिया गरिनेछ । 

घर तथा भवन निर्माणमा प्रयोग गरिने प्रविधि, सामाग्री तथा खर्च मितव्ययिताको बारेमा पनि मेलामा सेवाग्राहीलाई जानकारी दिइने उहाँले बताउनु भयो  । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । त्यस्तै, मेलामा ८२ जना श्रमिकलाई सम्मान पनि गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button