बागमती प्रदेशमा ‘प्रदेश भाषा दिवस’ मनाइँदै
काठमाडौँ । बागमती प्रदेश सरकारले आज ‘प्रदेश भाषा दिवस’ को अवसरमा विशेष कार्यक्रम आयोजना गरि मनाएको छ ।
भाषा दिवसको अवसरमा आज प्रदेश राजधानी हेटौँडामा बिहान प्रभात फेरीसहित समारोह आयोजना गरिएको थियो । बिहान हुप्राचौरबाट प्रभातफेरी निकालेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यक्रममा परिसरमा आयोजित कार्यक्रममा नेपाल भाषा र तामाङ भाषामा योगदान गरेका दुई जनालाई सम्मान गरिएको छ । मातृभाषामा योगदानका लागि नेपाल भाषाका मल्लके सुन्दर र तामाङ भाषाका अजितमान तामाङलाई सम्मान गरिएको हो । प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रुपमा तामाङ र नेपाल भाषा लागू भएको दिनको अवसरमा भाषा दिवस मनाइएको हो ।

काठमाडौँमा पनि बिहानै भाषा प्रभावकारी कार्यान्वयनका लागि दबाब स्वरूप नेवार र तामाङ समुदायले ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका छन् । दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गत वर्ष वैशाख २४ गते प्रदेश सरकारी कामकाजी भाषा ऐन– २०८० कार्यान्वयनमा आएको थियो । त्यसपछि नेपालीसँगै नेवार र तामाङ भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनाइएको छ ।

सङ्घीय राजधानी काठमाडौँको शान्तिबाटिकाबाट बिहानै भाषा प्रभावकारी कार्यान्वयनका लागि दबाब स्वरूप ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरी इन्द्रचोकमा कोणसभा गरिएको छ । यस्तै साँझ काठमाडौँको स्वयम्भू र बौद्ध तथा ललितपुरको मंगलबजारमा दीप प्रज्वलन कार्यक्रम हुने नेपाल तामाङ घेदुङले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्