लोकतन्त्रको विकल्प हुन सक्दैन: महासचिव पोखरेल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ । एमालेसम्बद्ध भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको आज टीकापुरमा उद्घाटन गर्दै उहाँले जनताको अधिकार स्थापना र जनचाहनाअनुसार विकास गर्न लोकतन्त्रको विकल्प नरहेको बताउनुभयो ।
महासचिव पोखरेलले हाल केही व्यक्तिले लोकतन्त्रको विकल्प राजतन्त्र भनेर चर्चा गरिरहेकामा त्यो परिवर्तित समय र चेतनाको आवाज नभएको जिकिर गर्नुभयो । “लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । हाल जति पनि परिवर्तन भएको छ, त्यसको प्रमुख जग लोकतन्त्र नै हो”, उहाँको भनाइ थियो,“राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्ति सलबलाउन थालेका छन् । अब देश विकासका लागि स्थिरताको खाँचो छ ।”
महासचिव पोखरेलले राजनीतिक स्थिरता भएका देशले नै छिटो प्रगति हासिल गरेको उदाहरण पेस गर्दै अगाडि भन्नुभयो,“यहाँ स्थिर सरकार बन्न सकेको छैन । पाँच वर्षमा पाँच वटाभन्दा बढी सरकार बन्छन् । सयौँ मन्त्री हुन्छन् । हामीकहाँ पनि पाँच वर्ष एउटै पार्टी र नेतृत्वमा सरकार बन्नेको भए समृद्धिका लागि देखेका सपना पूरा गर्न सहज हुन्थ्यो ।” हाल संसद्का दुई ठूला पार्टी मिलेर स्थिरताको प्रयास भएको र यो सहमतिअनुसार नै अगाडि बढ्ने उहाँको भनाइ छ ।
देशमा रहेका सम्पूर्ण भूमिविहीनलाई जग्गाको मालिक बनाउने काम वर्तमान सरकारले पूरा गर्ने भन्दै महासचिव पोखरेलले दुई वर्षभित्र सबै भूमिसम्बन्धी समस्या समाधान गर्ने गरी भूमि आयोगले काम गरिरहेको उल्लेख गर्नुभयो ।
भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशका विभिन्न ६४ जिल्लाबाट छ सय प्रतिनिधिको सहभागिता रहेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्