मिथिलामा जानकी नवमी मनाइँदै
महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानका साथ आज जानकी नवमी मनाइँदैछ ।

विदेह भूमि पनि भनिने मिथिलामा सीताको जन्म भएको विश्वासमा हरेका वर्ष वैशाख शुक्ल नवमीका दिन सीताजयन्ती मनाइन्छ ।

सीतालाई देशको राष्ट्रिय विभूति मानिएको छ । त्रेतायुगमा विदेह राज्यमा अनिकाल पर्दा राजाले हलो जोते पानी पर्छ भन्ने विद्वत्सभाको निर्णयानुसार राजा जनकले खेत जोत्दा भूमिबाट सीता प्रकट भएकी विश्वास गरिन्छ । यसै विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी वा जानकी प्रकाट्य दिवसका रुपमा मनाउने गरिएको हो ।
महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका मठमन्दिरमा वैशाख शुक्लपक्ष सुरु भएसँगै जानकी प्रकट दिवस मनाउन थालिन्छ । यो पर्वमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरस्थित रामजानकी ब्रह्मचारी कुटी, बर्दिबासस्थित रामजानकी मन्दिर र कामेश्वरनाथ महादेव मन्दिर परिसरमा सीता जयन्ती नौदिने धार्मिक अनुष्ठा सम्पन्न गरिँदै छ । यहाँका सबैजसो मठमन्दिरमा सीताजीसम्बन्धी कथावाचन, शोभा यात्रा गरेर सीता जयन्ती मनाइने परम्परा छ ।
बाल्यावस्थादेखि नै आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि मिथिलाको महिमा बढाएको रामायणसहितका पौराणिक ग्रन्थमा वर्णित छ ।
जानकी नवमी पर्व हिन्दू परम्परासँग जोडिएको भए पनि सीता विदेह भूमिकी छोरी भएकी हुँदा यहाँका सबै बासिन्दामा यस पर्वको भावनात्मक सम्बन्ध छ ।
प्रतिक्रिया राख्नुहोस्