तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाका ग्रामीण बस्तीमा विद्युतीकरण गरिँदै

दार्चुला । दार्चुलाका ग्रामीण घरधुरीहरूमा दार्चुला–डोल्पा ग्रामीण विद्युतिकरण आयोजनाले विद्युतिकरण गरिरहेको छ । उक्त आयोजना मार्फत जिल्लाका विद्युत् नपुगेका ७ वटै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको हो ।

परियोजनाले विद्युतको मेनलाइन र शाखालाई विस्तार गरिरहेको छ भने लाइन विस्तारको काम सकिएको ठाउँहरूमा लाइन परिक्षण र ट्रान्सफरमर चार्जको काम गरिरहेका दार्चुला–डोल्पा ग्रामीण विद्युतिकरण आयोजनाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताउनुभयो । म्यानेजर बस्नेतका अनुसार प्रोजेक्टले जिम्मा पाएको १२३ लोडसेन्टरमध्ये ८० वटा लोडसेन्टरमा ट्रान्सफर्मर चढाइसकेको र बाँकीमा समेत असार मसान्तसम्म ट्रान्सफर्मर चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सय बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गरेको छ । मार्माको वडा नम्बर-१ र अपिहिमालको दुर्गम गाउँहरूमा भौगोलिक विकटताका कारण काम गर्न केही ढिलाइ तथा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । लेकमको विकट क्षेत्र रतौडामा केही दिन पहिले ट्रान्सफर्मर राखिएको छ । 

महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखर लगायत अधिकांश स्थानीय तहमा विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको छ । व्याँस, मार्मा, नौगाड, अपिहिमालमा पनि काम भइरहेको छ, उहाँले भन्नुभयो, जिल्लाभरि विद्युतिकरणको काम तीव्र गतिमा भइरहेको छ । सबैतिर काम भइरहेकोले विद्युत् लाइनका तार र पोल अभाव भइरहेको छ ।

दार्चुलामा हालसम्म ७० प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ । करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा २० हजार घरधुरीमा विद्युतिकरण भएको नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले बताउनुभयो । करिब २० हजार घरमा बिजुली पुगिसकेको छ, उहाँले भन्नुभयो, केही महिना पहिलेसम्म एक देखि दुई सय मिटर मात्रै बिक्री भइरहेकोमा अहिले मासिक चार देखि पाँच सय मिटरको माग आइरहेको छ । मासिक मिटर बिक्री वितरणको तथ्याङ्क हेर्दा पनि पछिल्लो समय विद्युतिकरणको काम तीव्र गतिमा भइरहेको देखिन्छ ।

दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलभिसा गरी तीन वटा शव स्टेसनमार्फत विद्युत् वितरण गरिएको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार लेकम गाउँपालिकाको सिरोडामा सब स्टेसन निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । दुहुँ क्षेत्रमा समेत एउटा सब स्टेसन राख्नका लागि प्रक्रिया अघि बढाइएको वितरण केन्द्र प्रमुख सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button