वरिष्ठ पत्रकार विजय चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार’
काठमाडौँ।गोरखापत्र प्रतिष्ठानद्वारा प्रदान गरिने ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेलाई प्रदान गरिने भएको छ।
सोमबार प्रतिष्ठान शाखाका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चालिसेलाई ५० हजार रुपैयाँ राशी र सम्मानपत्रसहित पुरस्कार दिने निर्णय गरेको हो।
२०३७ सालमा गोरखापत्रमा उपसम्पादकका रूपमा प्रवेश गर्नुभएका चालिसे पछि संस्थानको प्रधानसम्पादक तथा कार्यकारी अध्यक्षसमेत रहनुभएको थियो। पत्रकारिता, साहित्य र संस्कृति विषयमा उहाँका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
युवामञ्च मासिकका सम्पादक उमेशकुमार ओझालाई ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ। कैलालीका ओझाले २०५१ सालमा करार सेवाबाट गोरखापत्रमा प्रवेश गर्नुभएको थियो।
त्यसैगरी, ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ द राइजिङ नेपालका विनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमकी सपना थामीलाई प्रदान गरिनेछ।
‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ भने गोरखापत्र दैनिकका भेषराज बेल्वासे र प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारीलाई प्रदान गरिनेछ।
गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सवको अवसरमा वैशाख २४ गते राजधानीमा हुने कार्यक्रममा उक्त पुरस्कारहरू प्रदान गरिने जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्