सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल : प्राकृतिक उपचारको भरोसायोग्य गन्तव्य
बाँके । बाँकेको कोहलपुर नगरपालिका–२, प्रेम नगरमा रहेको सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल प्राकृतिक पद्धतिबाट उपचार गर्न चाहाने बिरामीहरुका लागि आशा र विश्वासको केन्द्र बन्दै गएको छ। कुनै औषधि र शल्यक्रिया प्रयोग नगरी प्राकृतिक विधिबाट उपचार गरिने यो अस्पताल बाँके जिल्लामा एक मात्र हो, जहाँ खानपान, योग, ध्यान र पञ्चतत्वको प्रयोगमार्फत बिरामीहरूलाई सेवा दिइन्छ।
अस्पतालमा पाइने सहज वातावरण, चिकित्सक र कर्मचारीहरूको मित्रवत व्यवहारले बिरामीहरूलाई आत्मविश्वास दिन्छ। अस्पतालले ९ महिनाको अवधिमा २ हजारभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ। नेपाल मात्र नभई विदेशबाटसमेत मानिसहरू यहाँ स्वास्थ्य लाभ लिन आउने गरेका छन्।

लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएको अस्पतालमा यो वर्ष थप १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ। अध्यक्ष नवप्रसाद शर्मा पौडेलका अनुसार यो रकम भौतिक पूर्वाधार निर्माण र उपकरण खरिदमा खर्च गरिनेछ। उहाँले प्रदेश सरकारबाट अझै चिकित्सक दरबन्दी र संरचनात्मक सहयोग भए सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयाे।
यहाँका चिकित्सक डा. मनिष कुमार पाठकका अनुसार यहाँ धरैजसाे किड्नी समस्या, प्यारालाइसिस, नसाजन्य तथा हाडजोर्नी समस्या भएका बिरामी आउने गर्दछन् । प्राकृतिक उपचारका विधि अन्तर्गत फलाहार, रसाहार, माटोपट्टी, एनिमा, स्टिम बाथ, योग, ध्यान लगायतका सेवा दिइन्छ।

स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने यो अस्पतालमा सरकारी अधिकारी, राजनीतिज्ञ, व्यवसायी, सर्वसाधारण सबै आउने गरेका छन्। स्थानीय ११ जनाले रोजगारी पाएका छन् भने स्थानीयस्तरमा आर्थिक गतिविधिमासमेत योगदान पुगेको छ।
नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले अस्पतालको अवलोकनपछि यस्तै अस्पताल नरैनापुरमा पनि स्थापना गर्न पालिका तयार रहेको बताउनुभयाे।
स्वास्थ्य, पर्यटन र प्राकृतिक चिकित्सा प्रवर्द्धनमा यो अस्पताल उदाहरणीय बन्दै गएको छ। यदि यस्ता सेवा विस्तार गर्न सकियो भने भविष्यका महामारी तथा स्वास्थ्य संकटमा राज्यलाई पनि ठुलो सहयोग पुग्ने विश्वास गर्न सकिन्छ।
प्रतिक्रिया राख्नुहोस्