कास्कीको रूपा गाउँपालिकाको न्यायिक समितिमा ८ वर्षमा १०६ मुद्दा दर्ता

पोखरा । कास्कीको रूपा गाउँपालिकामा न्यून सङ्ख्यामा मुद्दा दर्ता भएका छन् । विगत ८ वर्षको अन्तरालमा १०६ मुद्दा न्यायिक समितिमा दर्ता भएको न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले बताउनु भयो ।
पालिका स्थापना भएदेखि हालसम्म करिब ८ वर्षको अवधिमा न्यायिक समितिमा दर्ता भएका १०६ मुद्दा मध्य ७७ वटा मेलमिलापबाट टुङ्गो लागेको पालिकाले बुधबार बेलुका पालिकामा आयोजित एक कार्यक्रम मार्फत जानकारी गराएको हो ।
जसमध्ये १६ वटा मुद्दाको निरूपण/फैसला भएका छन् भने ४ मुद्दा फिर्ता, तामेलीमा ३ र ४ मुद्दा प्रक्रियामा रहेको संयोजक गुरुङले उल्लेख गर्नुभयो । कानुनी सहजकर्ता प्राप्त गरेपछि न्यायिक समितिलाई काम काजमा धेरै सहज भएको उहाँको भनाई थियो । पति पत्नी बिचको सम्बन्ध बिच्छेद सम्बन्धि २१ मुद्दा परेको समितिले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो पालिकामा न्यायिक समितिले राम्रो काम गरेको प्रशंसा गर्दै पालिकालाई न्याय निरूपणमा सशक्त बनाउन विभिन्न सचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रमहरू निरन्तर रुपमा हुँदै आएको दाबी गर्नुभयो । पहिलो कार्यकालमा बाटो, पानी र पूर्वाधारमा जोड दिएको उल्लेख गर्दै उहाँले पालिका हाल, धान, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनेको उल्लेख गर्नुभयो ।

पालिकाले देशकै नमुना मौरी पकेट क्षेत्र बनाउने अभियान सुरु गरेको अध्यक्ष ओझाले बताउनु भयो । दुई हजार एक सय माहुरीको घार ल्याइएको र २ सय ५० परिवार पूर्ण व्यवसायीक मौरी पालक किसान रहेको उहाँले बताउनु भयो । ८ हजार लिटरबाट रूपामा अहिले वार्षिक ३५ हजार लिटर मह उत्पादन हुने भएको जानकारी दिनुभयो । पालिकामा धेरै सचेतनामूलक कार्यक्रम गर्नको लागि चालु आर्थिक वर्षमा मात्र १८ लाख बजेट विनियोजन गरिएको अध्यक्ष ओझाले बताउनु भयो ।
न्यायिक सहजकर्ता अमिन परियारले समितिले गरेको कार्यप्रगतीको साथमा भावी कार्यक्रमको प्रस्तुती राख्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अधिवक्ता सरिता तिमिल्सिना पंगेनी, प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी र न्यायिक समिति सदस्य बुद्धिमाया गुरुङ लगायतले न्यायिक समितिमा आएका मुद्दा सकेसम्म मेलमिलाप गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्