मानव बेचबिखन रोक्न अन्तरदेशीय हातेमालो र सहकार्यमा जोड
नेपालगन्ज । मानव बेचबिखन तथा ओसारपसारको सवाल अन्तर्राष्ट्रिय सरोकारको विषय बनेको भन्दै त्यसलाई रोक्न अन्तरदेशीय हातेमालो र सहकार्यमा जोड दिइएको छ ।
मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था शक्ति समूहले आज नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखन विरुद्ध अन्तर्देशीय कार्यशाला गोष्ठीमा मानव बेचबिखनको बदलिँदो आयामले चुनौती थपिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

बाँके र सीमावर्ती भारतीय जिल्ला बहराइचका प्रशासन र सुरक्षा अधिकारी समेतको उपस्थितिमा गरिएको गोष्ठीमा भारतसँगको खुला सिमानाले बढाएको चुनौती र बदलिँदो परिवेशमा अपनाउनुपर्ने सजगताबारे छलफल गरिएको छ । औपचारिक नाकाबाट समेत अहिले पनि ठूलो सङ्ख्यामा जोखिमपूर्ण यात्रा भइरहेकोप्रति दुवै देशका अधिकारी र मानव बेचबिखनमा काम गर्ने सङ्घसंस्थाहरू गम्भीर बन्नुपर्नेमा पनि जोड दिइएको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको तथा वैदेशिक रोजगारको नाममा बेचबिखन भइरहेको औँल्याइएको छ ।
शक्ति समूहका परियोजना संयोजक विवेक शर्माले संस्थाले गरिरहेको काम, कार्य क्षेत्र, योजना तथा मानव बेचबिखनको प्रवृत्तिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी षडानन्द खत्रीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शक्ति समूहकी संस्थापक सदस्य चरीमाया तामाङले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चौधरी, उपप्रमुख सीता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी खत्री, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, ओयुआर रेस्क्यु कोर्डिनेटर सरला तामाङ, नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरी, मानव बेचबिखन विरुद्ध क्रियाशील भारतीय संस्था देहातका हसन फिरोज, माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइराला लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्