तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकपः एपीएफ नेपाल सिराहालाई हराउँदै सेमिफाइनल प्रवेश

भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले सलहेश फुटबल क्लब सिराहालाई १–० गोलले पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरेको छ । 

दोस्रो हाफको दुई मिनेटमा एपीएफका लागि पेनाल्टीमा जर्सी नम्बर ७७ का प्रदीप लामाले गरेको गोल नै निर्णायक बन्यो । सलहेश फुटबल क्लब सिराहाले निर्धारित समयमा कुनै पनि गोल फर्काउन सकेन । मङ्गलवारको तेस्रो खेल भगवती स्पोर्टस क्लब खोटाङ र नवोबुद्ध फुटबल क्लब सप्तरीका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । 

करिब ४९ लाखको लागतमा भोजपुर नगरपालिका वडा नम्बर ७ मा रहेको रङ्गशालामा बैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन् । 

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ । 

गत वर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाण्डौले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे विजेता बनेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button