मौसम तथा विपद् संचारसम्वन्धी तिनदिने कार्यशाला सुरु
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपाल टेलिभिजन र बिबिसी मिडिया एक्सन नेपालको सहकार्यमा तीन दिने मौसम तथा विपद् संचारसम्वन्धी कार्यशाला आजदेखि सुरु भएको छ ।

रेडियो नेपाल केन्द्रिय प्रसारण कार्यालय सिंहदरबारमा सुरु भएको कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार विपद र मौसम सम्बन्धी सूचनालाई सरल र प्रभावकारी ढंगले सञ्चार गर्न कार्यशालाले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष विष्टले कार्यशालामा हासिल गरेका ज्ञान र सीपलाई व्यवहारिक रुपमा परिवर्तन गरी आम नागरिकलाई सुसूचित गराउने कार्यमा लाग्न पनि सहभागी सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा सार्वजनिक सेवा प्रसारण प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक प्रसारण नेपालले मौसम र विपद् सम्बन्धी जानकारीलाई बढी प्रभावकारी रुपमा आम श्रोता तथा दर्शकमाझ सञ्चार गर्ने उद्देश्य अनुरुप कार्यहरू गरिरहेको बताउनुभयो ।

यस्तै, कार्यशालामा वरिष्ठ पत्रकार तथा प्रशिक्षक मोहन मैनालीले सञ्चारकर्मीले मौसम तथा विपद्सँग सम्बन्धित वैज्ञानिक तथा प्राविधिक भाषा र शब्दहरूलाई सजिलै बुझ्न सकिने शैली र भाषामा सञ्चार गर्नु पर्नेमा जोड दिनुभयो ।

सञ्चार विज्ञ रामकृष्ण रेग्मीले सार्वजनिक सेवा प्रसारणले मौसम सम्बन्धि समाचार आम मानिसले बुझ्ने गरि कसरी तयार पार्ने भन्ने विषयमा प्रशिक्षण दिनुभयो ।


कार्यशालामा रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत २५ भन्दा बढी सञ्चार कर्मीको सहभागिता रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्