तपाईँ सुन्दै हुनुहुन्छः

दुई विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश 


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी दुई समितिको प्रतिवेदन सभा समक्ष पेश भएको छ ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक र कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुबेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभयो ।

बैठकले दुईवटा विधेयकहरू नेपाल हवाई सेवा प्राधिकरण विधेयक र बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधन माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि विचार गरियोस् भनि प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ  ।

सभाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले प्रस्तुत गर्नुभएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

यसैगरी, सभामा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसको सांसद माया राई पक्राउ परेको सूचना जानकारी गराइएको छ । 

राईलाई हिजो शनिवार प्रहरीले काठमाडौँको कपनबाट पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको विषयमा जिल्ला प्रहरी परिषद् अपराध अनुसन्धान तथा कारबाही शाखाले संसदमा पठाएको पत्रबारे सभामा जानकारी गाइएको हो ।  

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकले पूर्व स्वास्थ्य राज्य मन्त्री, संविधान सभा सदस्य एवं प्रतिनिधि सभाका पूर्व सांसद तीर्थराम डङ्गोलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांग्रेस पार्टीको तर्फबाट २०५६ सालमा काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित र २०६४ मा संविधान सभामा निर्वाचित डङ्गोलको ७७ वर्षको उमेरमा यही बैशाख १२ गते उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button