तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय औलो शून्य, आयातितको जोखिम

नवलपरासी  । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म सातजना औलो (मलेरिया) का बिरामी भेटिएका छन् । 

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का अनुसार सातै जना पुरुषमा औलो देखिएको हो । तीमध्ये एकजना शान्ति सैनिकका रूपमा सुडानमा खटिएर आएका नेपाली सेनाका जवान रहेका छन्भने बाँकी छजना भारतमा रोजगारी गरी फर्किएकाहरू छन् ।  

जिल्लामा विगतका वर्षहरूदेखि नै औला शून्य रहे पनि आयातित (अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी हुनेहरू भने फेला परिरहेका कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । “कामका लागि भारत गएर फर्किएकाहरूमा औलो रोग पत्ता लाग्ने क्रम बर्सेनि देखिने गरेको छ । जिल्लामै बसोबास गरिरहेकाहरूमा भने समस्या देखिएको छैन”, उहाँले भन्नुभयो । 

पछिल्ला सात आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा आयातित औलोको जोखिम रहेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा १३, २०७६/७७ मा ११, २०७७/७८ मा तीन, २०७८/७९ र २०७९/८० मा छ/छ र २०८०/८१ मा चारजना औलोका बिरामी देखिएका थिए । यस अवधिमा आव २०७८÷७९ मा एकजना महिलामा औलो देखिएको र अन्य सबै पुरुष रहेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले जानकारी दिनुभयो । “विगत सात वर्षका सबै बिरामीहरूमा आयातित संक्रमण नै देखिन्छ, यो नै हाम्रा लागि चुनौतीको विषय बनेको छ”, उहाँले भन्नुभयो ।   

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्थानीय औलोलाई शून्यमा झार्न यस्तो बिरामीको खोजपडताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट  यस्ता रोग फैलने हुँदा यसबाट बच्न चिकित्सकले आग्रह गरिरहेका छन् । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताउनुभयो । 

औलो संक्रमण भएमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छन् । यस्तो भएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । 

आज अप्रिल २५ का दिन विश्व औलो दिवसका सन्दर्भमा कार्यालयले जिल्लावासीलाई लामखुट्टेको सङ्क्रमणबाट बच्न र कुनै लक्षण देखिए स्वास्थ्य संस्थामा जान आग्रह गरेको । यो दिवश नेपालसहित विश्वभर मनाइँदै छ । यस वर्षको नारा ‘पुनः लगानी, पुनः सोच र पुनःजागरणः हामीबाटै औलो निवारण’ तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button