तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राम प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चित नगर घोषणा  

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमबिच सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्डका आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । 

मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिला कम्तीमा ९० प्रतिशत, दक्ष प्रसूतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसूति शुन्य र मापदण्ड अनुसार तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको सुनिश्चितता भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाका लागी स्वीकृति दिने व्यवस्था रहेको छ । 

जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले सबै मापदण्ड पुरा गरेको आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चित भएको पालिका घोषणा गर्नुभएको हो। लुम्बिनी प्रदेशमा दुई वटा गाउँपालिका यसअघिनै सुनिश्चितता घोषणा भइसकेका छन् ।

रामग्राममा चालु आर्थिक वर्षमा १ हजार २२ जना सुत्केरी मध्ये १२ जना महिला अस्पताल लैजाने क्रममा र बाँकी सबै अस्पतालमा सुत्केरी भएका थिए । नगरपालिकाले मातृ शिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवतीका लागी निःशुल्क एम्बुलेन्स सेवासहित गर्भवती तथा सुत्केरीलाई पोषक तत्त्व वितरण, ग्रामीण भेगमा निःशुल्क भिडियो एक्स रे सेवा लगायतका कार्यक्रम गर्दे आएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।

ग्रामीण भेगका महिलाहरू सदरमुकाम परासीसम्म भिडियो एक्स रेका लागी आउन आनाकानी गर्ने र नियमित चेकजाँच पनि नगर्ने गरेकाले सदरमुकाम परासीबाट टाढा रहेका ८ ओटा स्वास्थ्य संस्थामा साप्ताहिक रुपमा भिडियो एक्स रे सेवा प्रदान गरेको नगर प्रमुख यादवले जानकारी दिनुभयो । घोषणालाई दिगो रुपमा कायम राख्न सबैको सहकार्य आवश्यक रहने नगरप्रमुख यादवले उल्लेख गर्नुभयो । नागरिकलाई सहज रुपम सेवा प्रदान गर्ने र सेवालाई परिष्कृत गर्दै लगिने उहाँले उल्लेख गर्नुभयो ।

प्रसूति सेवालाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सुविधा सम्पन्न प्रसूति सेवा केन्द्र स्थापना, सुरक्षित मातृत्व सेवालाई प्राथमिकतामा राखी गर्भ जाँच र उत्तर प्रसूति सेवालाई स्वास्थ्यकर्मीले घरदैलोमै गएर सुत्केरी तथा नवजात शिशुलाई मापदण्ड अनुसार स्वास्थ्य जाँच गरि खोप लगाउने काम समेत गर्दे आएको नगरपालिकाले जनाएको छ । 

गर्भवती महिलाको ८ पटक जाँच र सुत्केरीको समयमा स्वास्थ्य स्वयंसेविका मार्फत नियमित निगरानी गरी स्वास्थ्य संस्था पुर्‍याउने व्यवस्था पनि नगरपालिकाले गर्दे आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।

बिहीबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पनि घोषणा गरिएको छ । १८ वटै वडामा घरधुरी सर्वेक्षण तथा खोजपड्ताल मार्फत ३ हजार २ सय ५० जना १६ देखि ५९ महिना सम्मका बालबालिका ले पूर्ण खोप पाएको हुनुपर्नेमा २६ जना छुट भएको पत्ता लगाएर खोप लगाइएको थियो ।

त्यस अवसरमा पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त अभियानमा सघाउने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र महिला स्वास्थ्य स्वयंसेविका सहित स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button