तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री सिंह र स्विस नियोगका डेपुटी चीफ अफ मिसन मेयरबिच भेट

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटको क्रममा मुख्यमन्त्री सिंह र नियोगका डेपुटी चिफ अफ मिसन मेयरबिच प्रदेश सरकारसँगको सहयोग तथा समन्वयमा एसडिसीले मधेश प्रदेशमा सञ्चालन गरिरहेका विभिन्न योजनाका प्रगति, चुनौती र समाधानका उपायबारे छलफल भएको थियो ।

भेटमा मुख्यमन्त्री सिंहले नेपालको विकास प्रयासमा स्विस सरकारको लामो तथा निरन्तर सहयोगको सराहना गर्दै छोटो समयको सङ्घीय शासन पद्धति र संरचना व्यवस्थित तथा विस्तारित नहुँदा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न कठिनाइ भइरहेको जानकारी दिनुभएको थियो ।

मुख्यमन्त्री सतिशकुमार सिंहसँगको भेटमा नियोगका नियोगका डेपुटी चिफ अफ मिसन मेयरले सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा एसडिसीका प्रयासबारे जानकारी गराउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन तथा वैदेशिक रोजगारबाट फर्केकाहरूको श्रम, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने भन्ने विषयमा नियोगका परियोजनाका अनुभव साझा गर्नुभएको थियो ।

भेटमा नियोगका नियोगका डेपुटी चिफ अफ मिसन मेयरले स्विस सरकार नेपालमा सञ्चालित परियोजनाको मूल्याङ्कन तथा आगामी चार वर्षका लागि नयाँ योजना तर्जुमा गर्ने तयारीमा रहेको जानकारी दिँदै पूर्वाधार तथा मानव संशाधन विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा रोजगारी आदिका क्षेत्रमा प्रदेश सरकारसँग गर्न सकिने कामका विषयमा समेत परामर्श भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button