तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा मन्त्री खड्काद्वारा भारतीय समकक्षी खट्टरलाई स्वागत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतका समकक्षी मनोहरलाल खट्टरलाई स्वागत गर्नुभएको छ ।

मन्त्री खड्काको निमन्त्रणामा आज बिहान काठमाडौँ आइपुग्नुभएका भारतीय मन्त्री खट्टरलाई मन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गर्नुभएको हो ।

स्वागतपछि मन्त्री  खड्का र भारतका विद्युत् मन्त्री खट्टरसहितको टोली भारतीय लगानीमा सङ्खुवासभाको अरुण नदीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्न सङ्खुवासभा प्रस्थान गर्नुभएको छ ।

सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुन लागेको उक्त आयोजना ९०० मेगावाटको रहेको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी विस २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

भारतीय विद्युत् मन्त्री खट्टर आज साँझ काठमाडौँमा हुन लागेको दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको सम्झौतापत्र हस्ताक्षर समारोहमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो ।

भारतका विद्युत् मन्त्री खट्टरले भोलि बिहान मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मुक्तिनाथबाट काठमाडौँ फर्केलगत्तै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको प्रवक्ता देवले बताउनुभयो ।

पशुपति दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ भोलि साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button