जुम्लामा दुई दिने हिमाली संवाद हुँदै

जुम्ला । जलवायु परिवर्तनले पारेको असर त्यसबाट अनुकूलित हुनका लागि गर्नुपर्ने प्रयासका सवालमा छलफल गर्न जुम्लामा ‘हिमाली संवाद’ हुने भएको छ । आगामी जेठ २ गतेदेखि ४ गतेसम्म हुने सगरमाथा संवाद कार्यक्रममा हिमालका सवालहरूलाई समावेश गर्नका लागि जुम्लामा हिमाली संवादको आयोजना गरिएको हो ।
जुम्लामा मङ्गलवारदेखि हिमाली संवाद सुरु हुने छ । वैशाख ९ र १० गते दुई दिन सञ्चालन हुने संवादमा चार वटा सेसन सञ्चालन हुने छन् । जहाँ जलवायु परिवर्तन तथा अनुकूलनका विषयमा विषय विशेषज्ञसँग छलफल गरिने छ । भने जुम्ला घोषणा पत्र समेत जारी गरिने किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले बताउनुभयो ।
सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा हिमाली संवादको सबै तयारी पूरा भएको जानकारी गराउँदै जुम्लामा पहिलो पटक भएको संवादलाई सफल बनाउन सबैलाई अपिल गरिएको हो ।
जलवायु परिवर्तनका कारण विशेष गरी हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँको पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट, तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकुल असरका बारेमा समेत छलफल हुने छ ।
कार्यकारी निर्देशक शाहीले भन्नुभयो, उच्च पर्वतीय क्षेत्रका पछाडि परेका तथा पारिएका वर्ग, विषेशगरी बालबालिका, युवा, महिला दलित, अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव, उनीहरूको वास्तविक भोगाई, जलवायु सङ्कटलाई सामना गर्न गरिएका स्थानीय प्रयास तथा अभ्यासका विषयमा छलफल केन्द्रित हुने छ ।’
संवाद कार्यक्रममा बालबालिकाको सहभागितालाई बढी जोड दिइएको छ । ओैपचारिक कार्यक्रम सञ्चालन देखि प्यानलिष्ट छलफलमा पनि बालबालिकाको सहभागिता रहने । हिमाली संवादलाई बालबालिकाको क्षमता तथा नेतृत्व विकासको माध्यमका रुपमा समेत हेरिएको छ ।
कर्णाली प्रदेशका १० वटा मध्य ८ वटा जिल्लाबाट सहभागी हुने छन् । दुई दिन सम्म चल्ने संवादमा करिब २ सय जना सहभागी हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्