परम्परागत बजार सुचारु गर्न चीनको चासो
दोलखा । चीनले दोलखासँगको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई निरन्तरता दिन चाहेको छ ।

खासामा बजार बस्नु अघि चल्तीमा रहेको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई चीनले निरन्तरता दिन चाहेको दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
केही समय अघि मात्र सीमा बैठकमा सहभागी हुन चीनको तिब्बत स्थित रोङ्सिया पुग्नुभएका दोलखाका प्रमुख जिल्ला अधिकारी गेलालले दोलखाको विगु गाउँपालिका –१ मा पर्ने फलाक नाका खुलाएर तिब्बतको रोङ्सियामा बजार विस्तार तथा सुचारु गर्ने चीनको प्रस्ताव रहेको बताउनुभयो ।

सीमा बैठकको क्रममा चिनियाँ पक्षले परम्परागत व्यापारलाई निरन्तरता दिन रोङ्सियामा केही भौतिक संरचनाहरू समेत तयार गरेकोले नेपाल पक्षले पनि सीमा सुरक्षा, सडक निर्माण, भन्सार कार्यालय लगायतका विषयमा चासो दिनुपर्ने चिनियाँ पक्षको आशय रहेको प्रमुख जिल्ला अधिकारी गेलालले भनाई छ ।
फलाक नाकाबाट व्यापारिक कारोबार हुने भएकैले नेपाल सरकारले २०२५/०२६ सालतिरबाट लामा बगरमा भन्सार कार्यालय खोलेको विगु गाउँपालिकाका पूर्व अध्यक्ष युधिष्ठिर खड्काले बताउनुभयो । यो कार्यालय २०४४/०४५ सालसम्म राम्रैसँग सञ्चालनमा रहेको भए पनि त्यस यता भने साइन बोर्डमा मात्र सीमित रहेको छ ।
यो नाका सुचारु गर्न सकिए नेपाल–चीन–भारत जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्ग हुने भएकोले सडक निर्माण लगायतका कामको लागि नेकपा एमालेले सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै सरकारलाई आग्रह गरिरहेको पोलिटब्युरो सदस्य पार्वत गुरुङ बताउनुहुन्छ ।
नेपाल– चीन– भारत जोड्ने दुई सय ५० किलोमिटरको फलाक–भिटामोड त्रिदेशीय मार्गको करिब दुई सय ४७ (कच्ची र पक्की गरी) किलोमिटर सडक बनिसकेको छ । अब करिब तीन किलोमिटर सडक बनेपछि चीनसँगको फलाक नाका जोडिने दोलखाका प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्