तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप : भारतसहित आठ टिमको सहभागिता 

भोजपुर । प्रत्येक बर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिम सहित नेपालका ७ टिमले सहभागिता जनाउने भएका छन् । 

प्रतियोगितामा जर्जियन फुटबल क्लब, भारत सहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटि मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजक पक्षले जनाएको छ । 

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस बर्ष भने आगामी वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने

छ । भोजपुर नगरपालिका वडा नम्बर ७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ भने अन्य थप रकम सहप्रायोजकहरुबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ ।  

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । 

गत बर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाण्डौले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे विजेता बनेको थियो । 

गत बर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले प्रतियोगितामा भाग लिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button