गर्मी छल्न वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा पर्यटकको भीड

बाँके । बाँकेको जानकी गाउँपालिका ६ मनिकापुरमा पश्चिम नेपालकै सबैभन्दा ठुलो अत्याधुनिक वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा गर्मी सुरु भए लगत्तै पर्यटकहरूको भिड देखिन थालेको छ ।
वन्डरल्याण्ड वाटर एण्ड फन पार्क झण्डै ३० करोडको लागतमा निर्माण गरिएको छ भने वन्डरल्याण्ड वाटर पाकमा मल्टी स्लाईड टु लेन, वडी वेभ स्लाईड, हाई स्पिड बडी स्लाईड, ओपेन बडी टर्निङ्ग स्लाईड, ओपन फल्ट स्लाईड, वेभ पुल, रेन डान्स फाईभ प्लेटफर्म वाटर प्ले सिस्टमको व्यवस्था रहेको म्यानेजर केशराज यादवले बताउनु भयो ।
एक सय कठ्ठामा फैलिएको वाटर फन पार्कमा टोतस् एक्टिभिटी, मसरुम, अम्रेला, टिल्टिङ्ग कोन, वाटर केज, रेन्बो, फन क्रिस्टल, फुड कोर्ट जस्ता सेवा सुविधाहरू प्रदान गर्दै आएको यादवले जानकारी दिनु भयो ।

दक्ष र अनुभवी प्राविधिकको निगरानीमा वाटर पार्क बिहान साढे १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको यादवले जानकारी दिनु भयो । पार्कमा प्रवेश गर्ने ३ फिट मुनिका बालबालिकालाई कुनै प्रवेश शुल्क नलाग्ने जनाएको छ भने अन्यको हकमा प्रति व्यक्ति रु ६ सय रुपैयाँ निर्धारण गरिएको छ । साथै पानीको स्वच्छता कायम गर्न पार्कमा हाल २० वटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ ।
बालबालिकाका लागि ५० करोडको लागतमा छुट्टै पार्क निर्माण गर्ने तयारी गरिएको म्यानेजर यादवले जानकारी दिनु भयो । फन पार्कमा पौडी खेल्दै गरेका चपरगौडीर घर भएका वासुदेव मल्लले गर्मीको समयमा पौडी खेल्दा धेरै नै रमाइलो हुने बताउनु भयो । उहाँले, ‘गर्मीको समयमा पौडी खेल्दा धेरै रमाइलो हुन्छ, पानी चिसो हुन्छ ।
साथीहरूसँग मिलेर पौडी खेल्दा केही समयको लागि भए पनि गर्मीलाई भुल्न सकिन्छ ।’ उहाँले फन पार्कमा चार घण्टासम्म स्विमिङ गरेको बताउनु भयाे । यस्तै सुमन थापा मगरले दिनहुँ तापक्रम बढ्दै गएकाले पौडी खेल्दा केही समय भए पनि आनन्द महसुस हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘केही दिनयता घाम धेरै चर्को लागेको छ, गर्मी धेरै छ ।’

स्विमिङ पुलमा बालबालिकादेखि वृद्धसम्म रमाइरहेका देखिन्छन् । स्विमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको छ । पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म खेल्न सक्छन् । स्विमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ पौडीले मनोरञ्जन प्रदान गर्ने मात्र नभई शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ । गर्मी बढेसँगै स्विमिङ पुलमा मानिसहरूको चाप बढेको फनपार्कका सञ्चालक शिवन्सु यादवे बताउनु भयो ।
शनिबार र सार्वजनिक बिदाको दिन र आइतबार भारतीय पर्यटकले गर्मीका कारण स्विमिङ पुलमा निकै भिडभाड हुने गरेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो‘सार्वजनिक बिदाको दिनमा फनपार्कमा स्विमिङ गर्न ५ सय देखि १ हजार सम्म मानिस आउने गर्छन् ।’सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा १०० देखि ४०० सम्म मानिस घुम्न र पौडी खेल्न आउने सञ्चालक यादवले जानकारी दिनु भयो ।
पौडी खेल्दा शरीरको सम्पूर्ण भागको व्यायाम हुन्छ । पौडी खेल्दा शरीरका सबै अङ्ग चलायमान हुने भएकाले शरीर स्वास्थ्य र फुर्तिलो राख्न मद्दत पुग्ने गर्छ । साथै पौडी खेल्दा मनोरञ्जन पनि प्राप्त हुन्छ । पौडीले शरीरको हड्डी मजबुत बनाउन, मांसपेशी कसिलो बनाउन, शरीर फिट राख्न सहयोग गर्छ ।









प्रतिक्रिया राख्नुहोस्