बैजनाथमा ५५ लाखको लागतमा विद्यालय भवन निर्माण सुरु
बाँके।बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित जनजागरण आधारभूत विद्यालयमा नयाँ चार कोठे भवन निर्माण सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले शुक्रबार भवनको शिलान्यास गर्नुभयो।
५५ लाख रुपैयाँको लागतमा बन्ने यो भवन शैक्षिक पूर्वाधार निर्माण अनुदान कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको हो। अध्यक्ष शाहीले विद्यालय भवन शिलान्यास कार्यक्रममा शिक्षा गुणस्तर सुधारका लागि पूर्वाधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
“यो केवल इँटा र सिमेन्टको संरचना होइन, भविष्य निर्माणको आधार हो,” उहाँले भन्नुभयो। अध्यक्ष शाहीले विद्यालयमा भौतिक पूर्वाधारको कमीका कारण शिक्षामा देखिएको चुनौतीलाई सम्बोधन गर्दै अबको यात्रा संगठित ढंगले अगाडि बढाइने बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायका अगुवा सहभागी थिए। विद्यालयले विगत १० वर्षदेखि कमजोर पूर्वाधारमा सेवा दिँदै आएकोमा भवन निर्माणपछि सिकाइ प्रक्रियामा सहजता आउने र विद्यार्थीको उपस्थितिमा सुधार हुने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्