तपाईँ सुन्दै हुनुहुन्छः

आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम ।  बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केवरस्थित शाखा अस्पतालले आयोजना गरेको तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित भएका छन् । शिविरबाट धनुषा, महोत्तरी तथा सिरहाका आँखाका बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ । 

त्यस अवसरमा बिरामीहरूको निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रुइत फाउण्डेशन र स्थानीय पालिकाहरूको समन्वय एवम् सहयोगमा आयोजित शिविरमा ३५२ जना पुरुष तथा ३२२ जना महिलाले सेवा लिएका थिए । 

शिविरअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पुगेर सेवा दिइएको थियो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका बिरामीहरूको ढल्केवरस्थित अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक तथा जलविन्दु विशेषज्ञ डा दिक्षा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्तरीको गौशाला, औरही, भङ्गहा बर्दिबास, मटिहानी र धनुषाको मिथिला तथा नगराइन एवम् सिरहाको कल्याणपुर तथा नरहालगायतका स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

गत माघ  ६ गते सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा डा दिक्षा मल्ल, कोर्निया विशेषज्ञ डा लिशा श्रेष्ठ, अकुलोप्लास्टी विशेषज्ञ डा साकेत पराजुली तथा डा उमेश साहले सेवा दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button