गिडिदह भ्रमण वर्ष सुरु: पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ को स्थित कर्णालीको नयाँ पर्यटन गन्तव्य गिडिदहको प्रवर्द्धनका लागि तातोपानी गाउँपालिकाले ‘गिडिदह भ्रमण वर्ष–२०८२ को शुभारम्भ गरेको छ ।
गिडिदहमा पर्यटक भित्र्याएर स्थानीयको आयस्तर वृद्धि सँगै रोजगारी सृजनामा टेवा पुर्याउने दीर्घकालीन सोच सहित गिडिदह भ्रमण वर्ष– २०८२ को शुभारम्भ गरिएको हो । गिडिदह भ्रमण वर्षको बुधबार प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको छ ।
उद्घाटन सँगै भ्रमण वर्ष सफल पार्न तातोपानी गाउँपालिका वडा नं ४ मा आयोजित बहस कार्यक्रममा सहभागी सरोकारवालाले गिडिदहलाई तातोपानीको मात्र नभई जिल्लाको समृद्धिको मेरुदण्डका रुपमा प्रवर्द्धन र विकास गर्नुपर्ने धारणा राखेका छन् ।
न्यूनतम पूर्वाधार बाटो,धर्मशाला,पदमार्ग,खानेपानी धारा लगायतका केही संरचना बनाइएको छ । थप ठुला पूर्वाधार बन्ने क्रममै छन् । तर गिडिदहमा पर्यटकको आर्कषण बढेपछि पर्यटन प्रवर्द्धन गर्न पालिकाले गिडिदह भ्रमण वर्ष सुरु गरेको हो ।
गुमनाम गिडिदहलाई चर्चामा ल्याएर सबैको रोजगाईको गन्तव्य बनाउन पालिकाले गरेका प्रयास प्रशंसा योग्य रहेको र पर्यटनबाटै समृद्धि सम्भव भएकोले पूर्वाधार विकासका जोड दिनु पर्ने बताएका हुन् ।
बहसको सुरुमा तातोपानी–४ का वडाध्यक्ष अम्मर बहादुर रोकायाले गुमनाम गिडिदहको चर्चामा आएदेखि साढे दुई वर्षको अवधिमा गरिएका कामको फेहरिस्त सुनाउनुभयो । साथमा सम्भावना चुनौती तथा अब गर्नु पर्ने कामका विषयमा समेत सरोकारवालालाई प्रकाश पार्नुभयो ।
कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले गिडिदह मात्र नभई जिल्लाका सबै पर्यटन गन्तव्य प्रर्बद्दनमा जोड दिनु पर्ने बताउनुभयो । एक क्षेत्रको प्रवर्द्धनले मात्र जिल्लाको विकास नहुने भएकोले सबै पालिकाहरूको आपसी समन्वय र सहकार्यमा काम गर्नु पर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जिल्लाको पर्यटन विकास,कृषि उत्पादन वृद्धि तथा ऊर्जा विकासका काम केन्द्रित हुन जरुरी छ । पर्यटन र कृषि जुम्ला समृद्धिका आधार हुन् । गिडिदह भ्रमण वर्ष सफल पार्न पूर्वाधारमा पनि जोड दिन आवश्यक छ । जुम्ला आउने हरेक पर्यटकलाई अर्ग्यानिक नासो दिने गरी उत्पादन वृद्धि र लेवलिङ प्याकेजिङमा ध्यान दिनुपर्छ ।’
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले तातोपानी गाउँपालिका पर्यटन सँगै पूर्वाधार विकासमा जिल्लाकै अब्बल रहेको बताउनुभयो । पर्यटन पूर्वाधार अभावले पर्यटक भित्राउन कठिन हुने भएकोले त्यसतर्फ ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले निर्वाचित भएकै पहिलो काम स्वरूप गिडिदह प्रवर्द्धनको काम थालनी गरेको बताउनुभयो । पूर्वाधार विकास,प्रचार प्रसारणका काम अघि बढाइएको उहाँको भनाई छ । गिडिदह केन्द्रित पूर्वाधार निर्माणमा वन क्षेत्र परेकाले समस्या भएको छ ।
उहाँले भन्नुभयो,’यस वर्षभित्र फूलचौल्या सम्म बाटो पुराउने लक्ष्य लिएका छौ । पदमार्ग,धर्मशाला अन्य संरचना बनिसकेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएमा बजेट जुटाएर सडक निर्माण थाल्छौ । गिडिदहलाई तातोपानीको मात्र नसोची सबैले सहयोग गर्न आवश्यक छ ।’
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापा विकास सँगै वातावरण विनाश हुँदै गएको उल्लेख गर्नुभयो । गिडिदहमा निर्माण हुने हरेक संरचना वातावरणमैत्री हुनुपर्नेमा जोड दिनुभयो । पूर्वाधार विकास बिना पर्यटक आउन मुस्किल हुने र हचुवामा बन्ने पूर्वाधार दीर्घकालीन असर गर्ने भएकोले ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो ।
गिडिदह प्रर्बद्धनमा केके भए काम ?
गुमनाम गिडिदह लाई चर्चामा ल्याउन तातोपानी गाउँपालिकाले २०७९ को असोज ४–६ गते सम्म पहिलो गिडिदह सम्मेलनको आयोजना गर्याे । त्यसअघि गिडिदह क्षेत्रमा जानू हुदैन्,भूत लाग्छ भन्ने अन्धविश्वास थियो । तर प्रचुर पर्यटन सम्भावना बोकेको गिडिदहमा २०८९ साल असोज ४– ६ गते सम्म गिडिदह सम्मेलनमा पहिलो पटक ८४ जनाको सरकारी टोली पुगेपछि गिडिदह चर्चामा आएको हो ।
सम्मेलनमा पालिकाले ३ लाख खर्च गरेको थियो । भने भिडियो बनाउन २५ हजार खर्च गरेको थियो । भौगोलिक रुपमा विकट गिडिदहमा पूर्वाधार बिना पर्यटक भित्र्याउन असम्भव भएपछि संघ प्रदेश र गाउँपालिकाको लगानीमा पूर्वाधार निर्माणदेखि प्रचार प्रसारका थुप्रै काम गरिएको वडाध्यक्ष रोकायाले उल्लेख गर्नुभयो ।
जसमा हाल गिडिदहको प्रवर्द्धनका लागि ७ लाख २५ हजार लगानीमा ६ किमी पदमार्ग निर्माण, १० लाख खर्चेर गिडिखोला भलखोला फूल्च्याउले लामाचौर गिडिदह जाने २० किमी सडकको डिपिआर निर्माण,वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ ।
त्यस्तै १५ लाख लगानीमा गिडिदहमा धर्मशाला,खानेपानी धारा शौचालय निर्माण गरिएको छ । उक्त क्षेत्रमा वर्षाै पहिला बनेको भवन जीर्ण बन्दै गएको थियो । अहिले गिडिदह पुग्ने पर्यटकलाई सहज भएको छ । त्यस्तै फूलचौल्यामा धर्मशाला निर्माणको काम भइरहेको छ ।
समुद्री सतहदेखि ३४ सय ८५ मिटर उचाइमा अवस्थित गिडिदहको लम्बाई– १५ सय १० मिटर चौडाई ३१० मिटर गहिराई ४२.८ मिटर रहेको छ । भने आकार र गहिराइका हिसाबले रारा ताल र शे-फोक्सुन्डाे पछि तेस्रो ठुलो ताल हो । जहाँ पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेको छ । निर्माण भएका संरचना पर्यटकको आवश्यकता पूर्ति नहुने भएकोले थप पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्