जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिइने

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नीति निर्माणमा जनआवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाम सुनिश्चित गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “खानेपानी जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौँ ।”
बोर्डले अघि सारेका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गर्नुभयो । “खानेपानी क्षेत्रको सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता छ”, उहाँले स्पष्ट पार्नुभयो ।
सो अवसरमा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक डा सञ्जीवबिक्रम राणाले चार सयभन्दा बढी स्थानमा वर्षा पानी सङ्कलन प्रणाली स्थापना भई करिब एक लाख जनसङ्ख्या लाभान्वित भएको, दुई सय तीनवटा ढुङ्गेधारा, इनार र कुवा संरक्षण एवं पुनः उत्थानले सांस्कृतिक र सामुदायिक जलस्रोतलाई पुनर्जीवित बनाएको, ३१ स्थानमा पानी एटिएम प्रणालीमार्फत गुणस्तरीय पिउने पानी सर्वसुलभ रूपमा उपलब्ध गराइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्