तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको भूमि आयोग नै अन्तिम हुन्छ: मन्त्री अधिकारी

मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको भूमि समस्या समाधान आयोग नै अन्तिम हुने बताउनुभएको छ । 

आइतबार मकवानपुरको बकैया गाउँपालिका– ७ स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गा धनीपुर्जा वितरण गर्नू हुँदै मन्त्री अधिकारीले विभिन्न कालखण्डमा आयोग गठन भएपनि काम हुन नसकेको भन्दै अहिलेको आयोगले भूमि सम्बन्धी सबै समस्या समाधान गर्ने गरि काम गर्ने र यो नै अन्तिम आयोग हुने बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो “भूमिहीन नागरिकको समस्या समाधान गर्न कै लागि आयोग गठन भएको र यो अन्तिम आयोग हुने हुँदा सोही अनुसार काम गर्न आयोगको केन्द्रदेखि जिल्ला सम्मका संरचना र अन्य सरोकारवालालाई निकायलाई भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।” उहाँले मुलुकभरमा ११ लाख करिब भूमिहीन लाभग्राही रहेको भन्दै यो डाटा अझै अपुरो रहेको बताउनुभयो । उहाँले कतिपय पालिकाहरू छुटेको हुँदा अन्तिम पटकका लागि छिट्टै सूचना खुलाइने बताउनुभयो । लामो समय भोगचलन गरेर पनि जग्गाधनी प्रमाणपत्र पाउन नसकेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई सरकारले जग्गाधनी पुर्जा वितरण गरिरहेको उहाँको भनाई थियो । 

कार्यक्रममा नेपाल सरकारका मुख्य सचेतक महेश बर्तौलालले सरकार जनताको सबै प्रकारका समस्या समाधान गर्न र जनताको अधिकार स्थापित गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भूमि सम्बन्धी समस्या पनि छिटो र फास्ट्रयाकबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले पटक पटक गठन भएको आयोगले काम नगर्दा जनताले दुःख पाएको भन्दै अब भने समाधानको पाटोमा अगाडी बढेको बताउनुभयो । 

कार्यक्रममा भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले संविधान प्रद्धत जनताको अधिकार स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको भन्दै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारको पनि पूर्ण साथ र सहयोग रहेको बताउनुभयो । कार्यक्रममा भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बलले पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गा धनीपुर्जा वितरण गरेको बताउनुभयो । उहाँले सरकारको उद्देश्य राम्रो भए पनि प्रक्रिया लामो हुँदा केही समस्या रहेको भन्दै जिल्लामा करिब ३५ हजार भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी रहेको र अहिलेसम्म प्रविष्ट हुनेको सङ्ख्या भने २४ हजार हाराहारी मात्र रहेको जानकारी दिनुभयो । 

आइतबार भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लाको बकैया गाउँपालिका– ७ स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गा धनीपुर्जा वितरणको गरेको हो । आइतबार एक कार्यक्रमबिच आयोगले बकैया– ७ भिरकोटका ५९ भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको हो । आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरणमाथि छानबिन गरी ब्लक अन्तर्गतका बकैया–४ का १९ जना अव्यवस्थित बसोबासी र ४० जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोगले बकैया– ७ का भूमिहीन सुकुम्वासीलाई न्यूनतम एक कठ्ठादेखि अधिकतम पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button