तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा कर्फ्युको अवधि राति १२ बजे सम्मकालागि थप,कर्फ्यु उल्लङ्घन गर्ने ४० पक्राउ, जनजीवन सामान्य बन्दै 

बीरगंज । वीरगञ्जको सुरक्षा अवस्थालाई मध्यनजर गरी स्थानीय प्रशासनले हिजो साँझ ६ः३० बजे देखि लगाएको कर्फ्युको अवधि आइतबार राती १२ बजे सम्मकालागि पुनः थप गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कर्फ्युको अवधि बढाउँदै आज मध्यरात सम्म कायम राख्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । 

यसअघि हिजो साँझ आज दिउसो १२ बजे सम्मकालागि कर्फ्यु आदेश जारी भएको थियो ।  विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको सर्वपक्षीय बैठकले वीर गन्जको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु नहटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले जानकारी दिनुभयो । 

बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सद्भाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको पटेलले बताउनुभयो । 

वीरगञ्जमा आइतबार बिहान देखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्बन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियो प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसैबिच जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यु उल्लङ्घन गरेको आरोपमा आज बिहान वीरगन्जका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरिक्षक लम्सालले बताउनुभयो ।  कर्फ्यु लगाइएको क्षेत्रमा नेपाली सेना सहित संयुक्त सुरक्षा निकाय तैनाथ गरिएको छ । स्थानीय प्रशासनले तोकेको  कर्फ्यु आदेश विपरीत कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर नजान स्थानीय प्रहरी प्रशासनले सूचना मार्फत अपिल गरेको छ ।

शनिबार हनुमान जयन्तीको शोभायात्राका दुई पक्षबीच भएको झडपले अवस्था तनावपूर्ण बनेपछि कर्फ्यु आदेश जारी गरिएको थियो । 

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा र हवाईफायरसमेत गर्नुपरेको थियो । झडपमा प्रहरी र सर्वसाधारणसहित ४३ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको उपचारमा संलग्न नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button