‘लोकतन्त्र र संविधानको रक्षाका लागि सब एकजुट भएर अघि बढ्नुपर्छ

धनगढी । नेकपा एमालेले आज धनगढीमा विशेष जनसभा आयोजना गरेको छ ।
धनगढीमा आज पार्टी केन्द्रीय कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राजतन्त्र नफर्किने बताउनुभयो ।
उहाँले नेपाली जनताले फालेको राजतन्त्र फर्किँदैन भन्नुभयो । उपाध्यक्ष ज्ञवालीले मुलुकलाई विकास र समृद्धिको यात्रामा एमालेले नेतृत्वले मात्र अघि बढाउन सक्ने बताउनुभयो । उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि सब एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै, जनसभालाई सम्बोधन गर्नुहुँदै एमाले महासचिव शङ्कर पोखरेलले मुलुकलाई पछाडि फर्काउने हर्कत स्वीकार्य नहुने बताउनुभयो । महासचिव पोखरेलले तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँलगायतलाई पक्राउ गरि सरकारले कानुनी कारबाही अघि बढाएको छ, हिंसात्मक गतिविधि गरेर नेपाली समाजलाई पड्कालोमा फाल्ने प्रयत्न सह्य हुँदैन भन्नुभयो ।
उहाँले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको बलियो प्रमुख शक्तिको रुपमा स्थापित गर्न आवश्यक रहेको छ भन्नुहुँदै आगामी निर्वाचन २०८४ मा एमालेलाई एकल बहुमत प्राप्त हुने गरि अघि बढ्नुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले सङ्कटका बेला एमाले र काँग्रेस मिलेको चर्चा गर्नुहुँदै स्थिरता, विकास, सुशासन, आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको स्पष्ट गर्नुभयो ।
जनसभालाई पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पोलिटब्युरो सदस्यहरु नारदमुनी राना, निरुदेवी पाल, शान्ता चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेलाई उपाध्यक्ष ज्ञवाली र महासचिव पोखरेलले माला लगाएर स्वागत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्